सिईओ बिबादले कृषि बिकास बैंकले मनाउन सकेन दिवस

कर्मचारी संगठनहरुले शाख जोगाए

भरत पाण्डेय
४८ वर्षको ईतिहासमा पहिलोपटक कृषि विकास बैंकले आफ्नो वार्षिकोत्सव मनाउन सकेको छैन । बैंकको सञ्चालक समितिले मनाउन नसकेपछि बैंकका तीन कर्मचारी संगठनले शुभकामना आदानप्रदान कार्यक्रम गरेर बैंकको अस्तित्व जोगाएका छन् ।
बैंकमा कार्यकारी अधिकृतको बिबादका कारण ईतिहासमै पहिलोपटक बैंकको वार्षिकउत्सव कार्यक्रम रोकिएको हो । सरकारले बैंकको पुरानो कार्यकारी अधिकृत तेज बहादुर बुढाथोकीलाई हटाएर नयाँ कार्यकारी अधिकृतमा लिला प्रकाश सिटौललालाई नियुक्त गरेपछि बैंका बिबाद छ । आफू खुल्ला प्रतिस्पर्धाबाट आएको र म्याद नसकिँदै हटाएको भन्दै बुढाथोकीले सर्बोच्च अदालतमा रीट दायर गरेपछि अदालतले ४ पुसमा सिटौलालाई  सिइओको हैसियतमा काम नगर्नु नगराउनु भनि अन्तरीम आदेश जारी गरेको थियो । मुद्धा फैसलाको पेशी पुस २७ गते तोकिएपनि फेरी माघ ११ गतेको लागि सरेको छ । यस्तो विबादको कारण बैंकका तीन कर्मचारी संगठनहरु कृषि विकास बैंक कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन कृषि विकाश बैंक र स्वतन्त्र कर्मचारी संगठनले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका हुन् ।
यस्तो विबादको अवस्थामा सञ्चालक समितिले वार्षिकोत्सवका लागि आवस्यक खर्चको निर्णय गरी उपल्लो अधिकारीलाई निमित्त दिएर कार्यक्रम गर्नसक्ने भएपनि त्यसो नगरेका कारण बैंकले बार्षिकोत्सव मनाउन नसकेको ती कर्मचारी संगठनहरुले बताएका छन् । ‘बिगतमा सञ्चालक समितिको अध्यक्षतामा विशेष कार्यक्रम हुन्थ्यो, तर यसपटक हुन सकेन,’ नेपाल राष्ट्रिय कर्मचारी संगठन कृषि विकाश बैंकका अध्यक्ष यादव पोखरेलले भन्नुभयो – ‘खर्चको विषयमा सञ्चालक समितिले निर्णय गरेर, बरीष्ठलाई निमित्त तोकी कार्यक्रम गर्नुपथ्र्यो तर हुन सकेन ।’
वार्षिकोत्सव कार्यक्रम नगर्दा कर्मचारीलाई प्रोत्साहन गर्ने कार्य रोकिएको कृषि विकास बैंक कर्मचारी संघका अध्यक्ष योगेन्द्र बहादुर सिँहले बताउनुभयो । उत्कृष्ट कर्मचारी छान्ने, बैंकले मनाउँदा खर्च स्विकृत गर्ने लगायतका कार्यक्रम हुन नसकेको उहाँको भनाई छ । ‘हरेक वार्षिकोत्सवमा  जागिर अवधि २० वर्ष पुगेका कर्मचारीलाई प्रमाणपत्रद्धारा सम्मान,  २५ वर्ष पुगेकोलाई सेवापदक र  देशका ११ क्षेत्रीय कार्यालयमातहतबाट ३÷३ जनालाई उत्कृष्ट छान्ने हुन्थ्यो तर भएन ।’ – उहाँले भन्नुभयो – ‘पटक पटक विकल्प खोज्नुस भनेर सञ्चालक समिति र नयाँ सिईओलाई भन्यौँ, उहाँहरुले चाँसो नदिएपछि हामीले आफै मनायौँ ।’ उहाँले बार्षिकोत्सवमा देशभरी पनि विभीन्न कार्यक्रम गरी सरोकारवालालाई बोलाएर बैंकका सेवाहरुको बारेमा जानकारी गराउने र प्रचार प्रसार गर्ने कार्यक्रम पनि नभएको बताउनुभयो । संघले यसअघि मुख्य कार्यालयमा रक्तदान कार्यक्रम पनि गरेको थियो ।
तर सञ्चालक समितिका अध्यक्ष प्रामेद कुमार कार्कीले भने सञ्चालक समितिले कार्यक्रमका लागि सबै व्यवस्था मिलाएको भएपनि बैंकका कर्मचारीहरुले नगरेको बताउनुभयो । ‘वार्षिकोत्सवका लागि बजेट विनीयोजन र  कार्यक्रम स्विकृत गरेका थियौँ, तक्माहरु बनाउन पनि निर्णय गरेका थियौँ’ – उहाँले भन्नुभयो – ‘तर उहाँहरुले किन कार्यक्रम गर्नुभएन, हामीलाई पनि बोलाउनुभएन ।’
तर बजेट स्विकृत गरेर मात्रै हुँदैन । पाँच हजार भन्दा माथीका प्रमुख कार्यकारी वा निमित्तले गर्न पाउने व्यवस्था भएपनि निमित्त नतोक्दा समस्या भएको स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नन्द बहादुर बुढाले बताउनुभयो । ‘न अदालतको अन्तरीम आदेश अनुसार उहाँले हाजिर गर्नु छोड्हुन्छ, न निमित्त दिएर बस्नुहुन्छ,’ बुढाले भन्नुभयो – ‘कसैले निमित्त पाएको भए त खर्च गर्ने अधिकार हुन्थ्यो अनि कार्यक्रम गथ्र्यो ।
कार्यक्रम तीनवटै यूनियनका अध्यक्षको संयुक्त अध्यक्षता, कृषि विकास बैंक कर्मचारी संघका महासचिव मोहिनी खनालको सञ्चालन, नेपाल राष्ट्रिय कर्मचारी संगठन कृषि विकाश बैंकका महासचिव हेमेन्द्र अर्यालको स्वागतमा भएको कार्यक्रममा स्वतन्त्र कर्मचारी संघका सचिव गोविन्द अर्यालले कार्यक्रमको प्रट्याउनुभएको थियो । कार्यक्रममा चारवटै कर्मचारी संगठनहरुको उत्साहजनक सहभागीता रहेको थियो ।