यस्तो छ तमुधिं यूकेको ‘९ औं नेपाली मेला’को तयारी

शिब भण्डारी,लन्डन– तमुधिं यूकेको आयोजनामा २७ अगष्टका दिन केम्पटन पार्क रेस कोर्समा हुन लागेको ९ औं नेपाली मेलाको तयारी तीब्र पारिएको छ ।

मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । मेलामा लन्डन मेयर सादिक खान आउने पक्का भएको छ ।

लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हुने उक्त मेलामा नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव आउने तयारी भए पनि बाढी पहिरोले निम्तिएको विपत्तिका कारण स्थगित भएको मेला संयोजक तथा तमुधिं यूके उपाध्यक्ष हितकाजी गुरुङले जानकारी दिए । कार्यक्रममा संस्थाका संरक्षक एवं एनआरएनए आईसीसी अध्यक्ष शेष घले, लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी आउने निश्चित भएको छ । कार्यक्रममा लन्डनस्थित विदेशी १८ जना राजदूतलाई निमन्त्रणा गरिएको छ ।

मेलामा करिब १२ हजार दर्शक आउने अनुमान आयोजकको छ ।

संयोजक गुरुङले नेपाली मेला भव्य बनाउन ६२ जना सम्मिलित कमिटीले जिम्मेवारीपूर्वक काम गरिरहेको बताए । मेला स्थल बिहान साढे ७ बजे नै खुल्ला गर्ने र दिउँसो १ बजेदेखि झांकी सुरु हुने तमुधिं यूकेले जनाएको छ ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ हुने मेलामा यसवर्ष करिब तीस संघसंस्थाका झांकीसहित युवाहरुका लागि लाइभ म्यूजिक, गीत संगीत, नृत्य प्रतियोगिता, खाना प्रदर्शनी, आदि आकर्षण हुनेछन् । प्रथम पुरस्कार ११ सय पाउण्ड र मेडल दिइने एम्बेसेडर कप तथा नृत्य(झांकी प्रतियोगिता पनि आकर्षणका रुपमा छ । ६ खाना र २५ व्यापारिक तथा च्यारिटी स्टल रहने तमुधिं यूकेले जनाएको छ ।