पूर्वघोषणाले प्रधानमन्त्रीको भारत भ्रमण अन्यौलमा

kpकाठमाडौं- ‘नाकाबन्दी नखुली भारत जान्नँ’ भन्ने अडानका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अन्यौलमा परेको छ ।

भारत भ्रमणको तयारी सुरु भएकाले अर्को छिमेकी देश चीनको भ्रमण पनि रोकिएको छ ।

ओलीको इच्छाअनुसार दिल्ली भ्रमणकै लागि भए पनि अहिलेसम्म अवरुद्ध रक्सौल-वीरगन्ज नाका खोल्ने रणनीतिमा भारत लागिपरेको संकेत देखिएको छ ।

‘मधेसी मोर्चाको मागमा आधामात्र पूरा भएको स्थिति छ,’ विदेश मन्त्रालयका उच्च पदाधिकारीले नेपाली कूटनीतिक पदाधिकारीसँगको भेटमा भन्न थालेका छन्, ‘प्रधानमन्त्री ओलीको भ्रमणअघि बाँकी रहेका मागमा पनि सम्बोधन होला भन्ने आस गरेका छौं ।’

मोर्चाका नेताहरुले पनि दिल्लीको संकेतअनुसार नाका खोल्ने जनाउ दिएका छन् । त्यसका लागि सघन छलफल शुक्रबारदेखि सुरु हुँदैछ ।