क्यरोलाइना– अमेरिकाको उत्तरी क्यारोलाइनामा एक व्यक्तिले मृत्युलाई पनि झुक्याएर बाँच्न सफल भएका छन् । ४० मिनेटसम्म धडकन बन्द भएर पनि ती व्यक्ति मृत्युको मुखबाट फर्कन सफल भएका हुन् ।
यो घटना गत २६ जुनमा भएको हो । ३६ वर्षीय जोन ओगबर्न चार्लोटेमा रहेको घरमा ल्यापटपमा काम गरिरहेको बेला उनलाई हृदयघात (कार्डियाक अरेस्ट वा मुटुको चाल बन्द) हुन्छ ।
९११ मा फोन गरेपछि भाग्वयवस नजिकै रहेका दुई प्रहरी त्यहाँ एक मिनेट भित्र पुग्छन् र उनलाई प्राथमिक उपचार सिपिआर दिन शुरु गर्छन् ।
करिब ४२ मिनेटसम्म दुवै जनाले पालो पालो तीन जना सन्तानका पिता रहेका ओगबर्नलाई सामान्य स्थितिमा फर्काउन प्रयास गरिरहन्छन् ।
सामान्यतय आपत्कालिन सेवा दिनेहरुले २० मिनेटसम्म जीवनको संकेत नपाए सिपिआर दिन नपर्ने नियममा उल्लेख छ । तर, चार्लोटे–मेक्लेनबर्गका दुई प्रहरी अफिसर लरेन्स गुइलर र निकोलिना बाजिचले भने त्यसको वेवास्ता गर्दै ओगबर्नलाई बचाउन प्रयास जारी राखे ।
ओगबर्नको मुटुको चाल पुनः शुरु भएपछि प्रहरीले उनलाई अस्पताल पुर्याएका थिए । त्यहाँ उनलाई मेडिकल्ली इन्डुस्ड कोमामा एक हप्तासम्म राखिएको थियो । उनलाई अब ६ महिनासम्म गाडी नचलाउन भनिएको छ । विस्तारै उनी सामान्य काममा फर्किन थालिसकेका छन् ।
हल्का छाती दुख्ने बाहेक ओगबर्न आफू अहिले ठीक भएको बताउँछन् । ‘मेरो काम गर्ने शक्ति र जोश पहिलेजस्तो चाहीँ अलिक छैन सायद मेरो दैनिक कार्यतालिका परिवर्तन भएर पनि होला,’ उनी भन्छन् ।
दोस्रो जीवन पाएकोमा यसलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा भने आफूले अझै सोचिनसकेको उनको भनाई छ ।
जसले मृत्युलाई पनि झुक्याए : ४० मिनेटसम्म धडकन बन्द भएर पनि बाँचे






