प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अघिनै भारतमा राजदूत नियुक्तिको तयारी

काठमाडौँ– परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले रिक्त रहेका छिमेकी मुलुक भारतसहित सबै स्थानमा चाँडै नै राजदूत नियुक्ती हुने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अगावै भारतका लागि राजदूत नियुक्ती गर्नेबारे कुराकानी भइरहेको पनि स्पष्ट पारेका छन् ।

‘भारत र चीन दुवै ठाउँमा राजदूत नियुक्ती गर्छौँ र खाली रहेका अन्य मुलुकहरुमा पनि नियुक्ती गर्छौँ’, मन्त्री महतले भने । मन्त्री महतले विश्वासमा आधारित भएर छिमेकी भारत र चीन लगायतका मुलुकहरुसँग सम्बन्ध विकसित गर्ने पनि बताए ।

मन्त्री महतले आर्थिक रुपले प्रगती गरिरहेका दुई ठुला छिमेकी राष्ट्र भारत र चिनबाट नेपालले बढि भन्दा बढि फाईदा लिन सक्ने गरि विश्वासको आधारमा सम्बन्ध विकसित गरि अघि बढ्ने बताए । ‘नेपालको आफ्नो आम राष्टिय स्वार्थलाई सुरक्षित राख्दै, छिमेकिहरूका चिन्ता र चासोलाई सम्बोधन गर्ने र विश्वासमा आधारीत रहेर सम्बन्ध विकास गर्ने हाम्रो प्राथमिकता हो । हाम्रो आर्थिक उन्नति पनि यसमै निर्भर छ ।’ उनले नेपालको व्यापार घाटा बढेको भन्दै यसलाई कम गर्न छिमेकीहरुसँग विश्वासपूर्ण वातावरण सिर्जना हुनुपर्ने र उनीहरुको आर्थिक विकासबाट लाभ लिनुपर्नेमा जोड दिए ।

मन्त्री महतले विदेशमा बसेका नेपालीहरूको सुरक्षा र हितलाई प्राथमिकतामा राख्ने पनि बताए । अर्को प्रसँगमा सरकारले पूर्णता पाए सँग मधेशी दलहरुसँगको सहमति कार्यान्वयन गर्ने बताए ।

उनले संविधानको कार्यान्वयन, भुकम्पपीडितलाई राहत र पुनिर्निर्माणमा सरकारको ध्यान रहेको बताए । संविधान संशोधनका लागि वार्ता प्रक्रिया अघि बढाइएको पनि उनले बताए । त्यसका लागि न्यूनतम सहमति गरेर संविधान संशोधन गर्ने पनि उनको भनाई थियो ।