अहिलेको सरकार जनमैत्रीः मन्त्री पौडेल

ललितपुर- शिक्षामन्त्री धनीराम पौडेलले अहिलेको सरकार जनमैत्री भएको बताउनुभएको छ ।

नेपाल अटो मेकानिक्स सङ्घको २२ औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले जनताको मौलिक अधिकार स्थापित गर्न सरकार लागेको बताउनुभयो । उहाँले भन्नुभयो–“जनताको आधारभूत आवश्यकतालाई मौलिक अधिकारका रुपमा स्थापित गर्न सरकार लागेको छ ।”

सहरीको भित्री भागमा वर्कसपका लागि ठाउँको अभाव, घरबेटीले निकाल्ने सम्भावनालगायतका कारणले पेसा व्यवस्थित बन्न नसकेको बारेमा आफू जानकार रहेकाले यस क्षेत्रका समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको मन्त्री पौडेलले बताउनुभयो ।

यातायात क्षेत्र व्यवस्थित बनाउन सरकार, यातायात व्यवसायी र जनता सबै लाग्नुपर्नेमा जोड दिंदै उहाँले पछिल्ला दिनमा एकपछि अर्काे सवारी दुर्घटना भइरहेकामा सरकार गम्भीर छ भन्नुभयो ।

सङ्घका अध्यक्ष दीपक खड्काले एकै ठाउँमा वर्कसपहरु हुँदा सेवा दिने र लिने दुवैलाई सहज हुने भएकाले सहरको भित्री भागमा ‘अटो ल्यान्ड’ को खाँचो औँल्याउनुभयो ।