कञ्चनपुर- भारतीय सुरक्षाकर्मीको गोलीले कञ्चनपुरको पुनर्बासमा नेपाली युवक मारिएको घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । भारतीय विदेश मन्त्रालयले घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
पुनर्बास नगरपालिका ८ का ३४ वर्षीय गोविन्द गौतमको भारतीय सुरक्षाकर्मीको गोलीले बिहीबार मृत्यु भएपछि शुक्रबार पनि कैलाली र कञ्चनपुर तनावग्रस्त भएका छन् । सरकारले गौतमलाई सहिद घोषणा गरेको छ भने काठमाडौंस्थित भारतीय कार्यवाहक राजदूतसँग स्पष्टीकरण सोधेको छ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले गौतमलाई सहिद घोषणा गरी उनको परिवारलाई दस लाख रुपैयाँ राहत उपलब्ध गराउने, उनको अन्त्येष्टि सम्मानपूर्वक गरिने र उनका सन्ततिको निःशुल्क पठनपाठनको व्यवस्था सरकारले गर्ने निर्णय भएको जानकारी संसद्लाई दिए ।
कञ्चनपुर घटनाबारे आफूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन गरेर घटना छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेको जानकारी पनि निधिले दिए । यस्तै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले पनि स्वराजलाई फोन गरी आइन्दा यस्तो घटना नदोहोर्याउन आग्रह गरेको र काठमाडौंस्थित भारतीय दूतावासका कार्यवाहक राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाई ध्यानाकर्षण गराइसकेको जानकारी पनि मन्त्री निधिले दिए ।
मोदीबाट दुःख व्यक्त गृहमन्त्री निधिले कञ्चनपुर घटनाबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेको जानकारी भारतीय सुरक्षा सल्लाहकार अजित डोभलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराएको संसद्मा बताए।






