काठमाडौं – नेपालले एग्रिमो स्वीकृत गरेलगत्तै भारतले नेपालका लागि राजदूतमा मञ्जीव सिंह पुरीलाई राजदूतमा नियुक्त गरेको घोषणा गरेको छ ।
भारतले झण्डै १० दिन अगाडि एग्रिमो स्वीकृतिका लागि पठाएपछि पुरी राजदूत हुने पक्का भएको थियो । नेपालले बिहीबार मात्र पुरीको एग्रिमो स्वीकृत गरेको पत्र भारतलाई पठाएको छ ।
भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुरीलाई नेपालका लागि राजदूतमा नियुक्त गरेको बताएको हो । हाल बेल्जियमका लागि भारतीय राजदूतका रुपमा कार्यरत उनी सन् १९८२ मा परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।






