यस्तो छ खाद्य संस्थानका खसीबोका तथा च्याङ्ग्राको मूल्य!

काठमाण्डाै २९ असोज । नेपाल खाद्य संस्थानले केही मात्रामा ल्याएको खसिबोका आजदेखि विक्री गर्ने भएको छ। तराई बन्दले प्रयाप्त  मात्रामा खसीबोका ल्याउन नपाएको जनाउँदै संस्थानले मकवानपुर जिल्लाबाट ४ सय जति खसीबोका ल्याइएको र त्यसैको विक्री गर्न लागेको जनाएको छ।
विगतका वर्षहरुमा ३ हजारभन्दा बढी खसीबोका भित्र्याउने गरेको संस्थानले यसपटकको दशैंका लागि जम्मा चार सय खसीबोका मात्र काठमाडौ भित्र्याएको हो। मधेशवादी दलको आमहड्ताल र इन्धनको हाहाकारका कारण विगतका वर्षमा जति खसीबोका ल्याउन नसकेको संस्थानका अधिकारीहरुले जनाएका छन्।
संस्थानको थापाथलीमा रहेको गोदामबाट विक्री गर्न लागिएको जिउँदो खसीको मूल्य २५ केजीसम्मको प्रतिकेजी ४ सय ३५ रुपैयाँ तथा २५ केजीभन्दा माथिका  प्रतिकेजी ४ सय ४५ रुपैयाँमा विक्री गरिने संस्थानले जनाएको छ।
व्यवसायीहरुका अनुसार, दशैंका बेला काठमाडौ उपत्यकामा करिब ६० हजार खसीबोकाको किनबेच हुन्छ। संस्थानले विगतका वर्षहरुमा बाँके, सुर्खेत, सिरहा लगायतका जिल्लाहरुबाट खसीबोका ल्याउने गरेको थियो। संस्थानका प्रवक्ता श्रीमणी खनालले उपभोक्ताको माग धान्न नभइ बजारमा कालोबजारी नहोस् भनेर प्रतिकूल अवस्थाका वाबजुद् पनि संस्थानले खसीबोका भित्र्याएको बताए।
गत वर्षभन्दा प्रतिकेजी १० रुपैयाँ मूल्य बढाइएको संस्थानका प्रवक्ता श्रीमणिराज खनालले सेतोपाटीलाई जानकारी दिए। अहिले ढुवानीमा भएको समस्या तथा विभिद कारणले गर्दा थोरै मात्रामा मूल्य बढाइएको उनले बताए। काठमाडौंको खुद्रा बजारमा भने खसीको मासुको मूल्य प्रतिकेजी ८ सय ५० रुपैयाँमा कारोवार भएको छ।
त्यस्तै च्यांग्राको मूल्य प्रतिकेजी ६ सय ३० रुपैयाँ तोकिएको छ। संस्थानले पहिलो पटक च्यांग्राको पनि कारोवार गर्न लागेको हो। संस्थानले खसी नपाएपछि यसपटक च्याङ्ग्रा ल्याएको छ । मुस्ताङबाट ७ सय च्याङ्ग्रा ल्याएको संस्थानले आफ्नो वागमती अञ्चल कार्यालयबाट खसीकोबा र च्याङ्ग्राको विक्रिवितरण सुरु गरेको छ । विगतका वर्षमा घटस्थापनाको दिनदेखि खसीबोका विक्री गर्ने गरेको संस्थानले यसपटक दशैं सुरु भएको चौंथो दिन शुक्रबार विक्री सुरु गरेको हो ।
बजारमा व्यवसायीहरुले मनलाग्दीरुपमा मूल्य लिन नपाउन् भन्ने उद्देष्यले खाद्य संस्थानले २०३१ सालदेखि हरेक दशैंमा खसीबोका बेच्दै आएको छ। तर यसपटक संस्थानले खसीबोका ल्याउन ढिलाइ गरेको परिणाम व्यवसायीहरुले बजार कब्जा गरिसकेका छन्। व्यवसायीहरुले इन्धनको अभाव र भारतको अघोषित नाकाबन्दीका कारण खसीबोकाको अभाव रहेको भन्दै उपभोक्ताहरुसँग मनलाग्दी मूल्य असुलेका छन्।