प्रमुख प्रतिपक्ष दल एकीकृत (नेकपा) माओवादी र मधेसी मोर्चाले संविधानसभा भवन प्रवेशका लागि आफ्ना सभासद्हरुमाथि गरिएको कडा सुरक्षा जाँचप्रति सभाध्यक्ष सुवास नेम्वाङलाई ध्यानाकर्षण गराएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायतका नेताले आज अध्यक्ष नेम्वाङलाई संविधानसभा भवन नयाँ बानेश्वरमा भेटी संविधानसभालाई जेलजस्तो बनाइएको आरोप लगाउनुभयो ।
भेटपछि एमाओवादी नेता अग्निप्रसाद सापकोटाले सञ्चारकर्मीलाई जानकारी दिँदै नियोजित रुपमा प्रतिपक्ष दलका सभासद्को अपमान गर्न खोजिएको आरोप लगाउनुभएको हो ।
उहाँले गत सोमबार बिग्रेको माइकमध्ये प्रतिपक्षतर्फको मर्मत नगरिएको प्रति आपत्तिसमेत जनाउनुभयो । गत सोमबार राति सभासद्हरुले मदिरा सेवन गरेर आएको भन्ने आरोपको खण्डन गर्दै उहाँले कुनै पनि सभासद्ले त्यसो नगरेको स्पष्ट पार्नुभयो ।
सभाध्यक्ष नेम्वाङलाई ध्यानाकर्षण






