लहान, ११ फागुन– चुनाव विरोधी गतिविधिमा सक्रिय रहेको भन्दै रैथाने एकता परिषद्ले सिराहाको लाहनमा मधेसी मोर्चाका नेताहरुको पुतला दहन गरेको छ । मधेसलाई चुनाव आवश्यक रहेको जनाउँदै रैथाने मधेसीहरुले चुनावको विरोधी गतिविधिमा नलाग्न मधेसी मोर्चाका नेताहरुलाई कडा चेतावनी दिएका छन् ।
मधेसी मोर्चाले आव्हान गरेको बन्दको पनि उनीहरुले विरोध जनाए । लहान चोकमा बुधवार परिषदका नेताहरु मनिष चौधरी र बिजय थापाको नेतृत्वमा रैथाने परिषदका कार्यकर्ताहरुले मोर्चाका नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव र महन्थ ठाकुरको पुत्ला जलाएका हुन् ।
मधेसी मोर्चाले रैथाने मधेसीलाई कमजोर बनाउन अंगीकृत नागरिकको पक्षपोषण गरेको भन्दै एक महिना अघि लहानमै रैथाने एकता परिषद गठन भएको थियो । लहानमै परिषदले यसअघि ठूलो संख्याको सहभागितामा मोटरसाइकल र्याली आयोजना गरेको थियो । परिषदले स्थानीय चुनाव मधेस र मधेसीका लागि अत्यावश्यक भएकाले त्यसबिरुद्ध लागेका मोर्चाका नेताहरुको पुत्लादहन गरेको बताएको छ ।
परिषदका अध्यक्ष सन्तोष बराइलीले स्थानीय निकाय चुनावको पक्षमा निरन्तर प्रदर्शन गरिरहने बताए ।






