रोयल बरो अफ ग्रीनविचमा नेपालका बाढी पीडितको सम्झनामा भावुक श्रद्धाञ्जली तथा एकता प्रदर्शन

लन्डन । रोयल बरो अफ ग्रीनविचमा नेपालमा आएको विनाशकारी बाढीका पीडितहरूको सम्झनामा एक भावुक श्रद्धाञ्जली तथा एकता कार्यक्रम (Vigil and Act of Remembrance) सम्पन्न भएको छ।

कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडितहरूप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए। साथै, विनाशकारी बाढीपहिरोका कारण विस्थापित तथा प्रभावितहरूको शीघ्र उद्धार, उपचार र पुनर्स्थापनाको कामना गरिएको थियो।

कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, ग्रीनविचका मेयर, काउन्सिल लिडर एन्थोनी ओकेरेके, काउन्सिलरहरू, विभिन्न धर्मगुरु, सामुदायिक अगुवा तथा ठूलो संख्यामा नेपाली समुदाय र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। कार्यवाहक राजदूत दुवाडीले मातृभूमिमा परेको यस प्राकृतिक विपद्प्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा ग्रीनविचका नेपाली मुलकापूर्व मेयर एवं काउन्सिलर जीत रानाभाट र उनकी धर्मपत्नी काउन्सिलर गौमाया गुरुङ रानाभाटको विशेष पहल तथा संयोजनमा कार्यक्रम रहेको थियो। दुवै जना लेबर पार्टीबाट काउन्सिलरका रूपमा निर्वाचित भएका हुन्। जीत रानाभाट प्लमस्टेड एण्ड ग्लिण्डन वार्डबाट तथा गौमाया गुरुङ रानाभाट एबिवुड वार्डबाट निर्वाचित भएका हुन्। उनीहरूले विशेषगरी भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण उत्पन्न दुःखद घटनाले आफूहरूलाई गहिरो रूपमा मर्माहत बनाएको बताए।उनले “तपाईंहरू एक्ला हुनुहुन्न, ग्रीनविचका बासिन्दा नेपाल र यहाँका नेपाली समुदायसँग एकताबद्ध छन्” भन्ने सन्देश प्रवाह गरे।

उक्त अवसरमा वक्ताहरूले नेपालमा आएको प्राकृतिक विपत्तिले गहिरो मानवीय क्षति पुर्‍याएको उल्लेख गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र पीडितहरूप्रति सहानुभूति व्यक्त गरे। सहभागीहरूले “नेपाल टाढाको देश मात्र होइन, धेरैका लागि घर हो, र त्यहाँको पीडा यहाँ ग्रीनविचमा पनि महसुस हुन्छ” भन्ने भाव व्यक्त गरेका थिए।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने काउन्सिल, कर्मचारी, धर्मगुरु, सामुदायिक संस्था, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेका छन्। सहभागीहरूले विपद्को घडीमा मानवता, करुणा र एकताको सशक्त सन्देश प्रवाह भएको बताएका छन्।

मल्टिफेथ प्रार्थनासहित सम्पन्न कार्यक्रममा मृतकहरूको आत्माको शान्तिको कामना गर्दै बेपत्ता व्यक्तिहरूको सुरक्षित उद्धार र प्रभावित समुदायको शीघ्र पुनर्निर्माणका लागि शक्ति प्राप्त होस् भन्ने कामना गरिएको थियो।कार्यक्रममा नेपाली संघ–संस्थाका प्रतिनिधि लगायत स्थानीय समुदायहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *