एजेन्सी–बंगलादेशका एक क्रिकेटर नायिकामाथि बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।क्रिकेटर रुवेल हुसैनमाथि १९ वर्षीया नायिका नजनिन अक्तेर ह्यापीलाई बलात्कार गरेको अभियोग लागेको हो । उनलाई अदालतले आदेशमा गिरफ्तार गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । उनीमाथि गत महिना दर्ता भएको बलात्कार आरोपमाथि सुनुवाई गर्दै अदालतले पक्रन आदेश दिएको बीबीसीले जनाएको छ ।
हुसैनका वकिलले धरौटीमा रिहा गर्न गरेको अपिल अदालतले खारेज गरेलगत्तै उनलाई प्रहरीले पक्रेको बताइएको छ । पहिला बलात्कार गरेको र पछि विवाह गर्ने सर्तमा सहमतिमै यौन सम्पर्क भए पनि विवाह गर्न नमानेको भन्दै किशोरीले मुद्धा दिइकी हुन् ।
हुसैन आगामी महिना अस्ट्रेलिया र न्युजिल्याण्डमा हुने विश्वकपका लागि बंगलादेशी राष्ट्रिय टोलीमा परेका थिए । अदालतको यो फैसलाले उनको विश्वकप यात्रामा ब्रेक लागेको छ ।
यसैबीच नजनिनले आफूलाई बिहे गर्न राजी भए हुसैनविरुद्धको मुद्दा फिर्ता लिने घोषणा गरेकी छन् ।हुसैनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले बलात्कार आरोप अस्वीकार गर्दै आफूहरुबीच सहमतिमै यौन सम्पर्क हुने गरेको दाबी गरेका छन् ।






