उपेन्द्र दिल्लीबाट फर्के लगत्तै बाबुरामसँग संयुक्त वक्तब्य, चुनाव स्थगित गर्न माग

काठमाडौं–उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले संयुक्त वक्तब्य जारी गरी स्थानीय तहको घोषित निर्वाचन स्थगित गर्न माग गरेका छन् ।

सरकारले चुनाव घोषणा गर्ने प्ष्ट भएपछि घोषणाको अघिल्लो दिन आइतबार दिल्ली गएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव फर्के लगत्तै यादव र भट्टराईले चुनाव स्थगित गर्ने संयुक्त वक्तब्य जारी गरेका हुन् ।

यादव दिल्लीबाट फर्केपछि चुनाव घोषणाप्रति भारतको के निर्देशन आउँछ त्यसै अनुसार रणनीति तय गर्ने भन्दै मधेसी मोर्चाको मंगलवारको बैठक विना निर्णय स्थगित भएको थियो । भट्टराईले भने चुनाव घोषणाको विरोध गर्दै चुनाव गर्न संविधान संशोधन, सवर्पक्षीय सरकार गठन लगायतका ६ वटा सर्त अघि सार्दै बुधवार वक्तब्य जारी गरेका थिए ।

चुनाव घोषणाबारे छिमेकी देश भारतले औपचारिक रुपमा धारणा सार्वजनिक नगरे पनि उपेन्द्र यादव र बाबुराम भट्टराईका संयुक्त गतिविधि र प्रतिक्रियाले चुनावप्रति भारतीय दृष्टिकोण बुझ्न मदत गरेको छ ।