भक्तपुर- उद्योग मन्त्री सोमप्रसाद पाण्डेले दश वर्ष भित्रमा युवा शक्ति नभएर युवाले उत्पादन गरेका सामाग्री विदेश निर्यात गर्ने तयारीमा वर्तमान सरकार लागेको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पाण्डेले भन्नुभयो, ‘मुलुकको सबै प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी नेपाली उत्पादनलाई प्राथामिकता दिँदै नेपालमै रोजगारीको वातावरण निर्माणमा गरी युवालाई विदेश होइन उनीहरुले उत्पादन गरेको वस्तु विदेश पठाउँछौं ।’
पछिल्लो समयमा सबै राजनीतिक दलहरुको प्रमुख एजेन्डा आर्थिक विकास हुनु राम्रो भएता पनि देशलाई आर्थिक समृद्धितर्फ लान औद्योगिक विकासबिना असम्भव रहकाले सबैभन्दा पहिला प्राथामिकता औद्योगिक विकास भएकाले वर्तमान सरकार औद्योगिक विकासमा केन्द्रित बनेको पाण्डेले बताउनुभयो ।
सात प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको लागि जग्गा अधिग्रहण कार्य भइरहेको भन्दै मन्त्री पाण्डेले १ नं. प्रदेशको झापामा बन्ने औद्योगिक क्षेत्रको विकाशको लागि लगानी गर्न चीन र कोरिया तयार रहेको भन्दै कुरो भन्दा कामको शैलिले तीब्रता पाएको बताउनुभयो ।
सात प्रदेशमा विस्तार हुन लागेका औद्योगिक क्षेत्रमा नेपालमा उत्पादित कच्चा पदार्थबाट निर्माण हुने वस्तुहरुलाई पहिलो सूचीमा राखेको र हस्तकलाबाट निर्मित वस्तुको प्र्रबर्द्धन गर्दैै बुहुराष्ट्रिय कम्पनीहरुको लगानीलाई समेत समेट्दै औद्योगिक क्षेत्रको विस्तारमा अघि बढेको बताउनुभयो ।
दैलेखबाट सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खननसँगै अन्य स्थानमा रहेका इन्धन खानीको उत्खनन गरी व्यवसायिकरुपमा उत्पादन गर्ने र तीन वर्षभित्र मुलुकमा रहेका सबै खनिजजन्य पर्दाथको उत्खनन् कार्य सकिने भन्दै मन्त्री पाण्डेले नेपालको १० स्थानमा उक्त कार्य जारी रहेको बताउनुभयो ।
सरकार परिवर्तनको बिषय हल्ला मात्र भएको भन्दै सरकार परिवर्तन २०७४ माघ सम्म कसैले चाहेर पनि नहुने यदि यसो भएमा संविधान नै संशोधन गर्नु पर्ने टिप्पणी गर्नु भयो । संविधानको धारा २ सय ९८ अनुसार सरकार बनेकाले गठबन्धनको एक दल मात्र बाहिरिए पनि देशमा संवैधानिक संकट आउन सक्ने मन्त्री पाण्डेले बताउनुभयो ।
मधेस आन्दोलनका जायज मागको सम्बोधन गर्न सरकार तयार रहेको र त्यसका लागि वर्तमान सरकारले बारम्बार वार्तामा आउन पत्राचार गरेता पनि आन्दोनकारीले बेवास्ता गरेको बताउनुभयो ।






