लन्डन दूतावासमा पर्यटन प्रवर्धन कार्यक्रम (भिडियो सहित)

nepal uk

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा पर्यटन प्रवर्धन कार्यक्रम भएको छ । मंगलबार सांझ नेपाल पर्यटन वोर्डको सहकार्यमा दूतावास भवनमा कार्यक्रम भएको हो ।

लन्डन एक्सेलमा २ देखि ५ नोभेम्बरसम्म जारी वल्र्ड ट्राभल मार्केटमा पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन वोर्डसहित नेपाली ट्राभल व्यवसायी लन्डनमा आएका बेला कार्यक्रम गरिएको छ । कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नयां संविधान जारीपछि नेपाल सही मार्गमा हिंडिरहेको उल्लेख गर्दै क्षेत्रीले ब्रिटिश पर्यटकलाई नेपाल घुम्न जान सल्लाह दिए ।

नेपाल पर्यटन बोर्डका प्रशासन प्रमुख कमलप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय मिडियाले नेपालको नकारात्मक कभरेज गरेपनि पर्यटनले पुनर्जीवन पाइसकेको उल्लेख गरे । बोर्डकै वरिष्ठ अधिकृत श्रद्धा श्रेष्ठले नेपाल पर्यटकका लागि विश्वकै मनमोहक र स्वर्ग भएको जनाइन् । उनले नेपाल ९५ प्रतिशत प्रकृतिले भरिभराउ गन्तव्य भएको उल्लेख गर्दै पर्यटकको सुरक्षा र विपद व्यवस्थापनका लागि सरकारले विशेष कोस खडा गरेको पनि उल्लेख गरिन् ।

दुई बेलायती सांसदहरु वीरेन्द्र शर्मा एवं बब ब्ल्याकम्यानले पनि नेपाल भ्रमण गरेर सहयोग गरिदिन आफ्ना नागरिकलाई अपिल गरेका छन् । बेलायती सर्वदलीय संसदीय समितिको नेपाल अध्यक्ष शर्माले नेपाल आकर्षक गन्तव्य भएको जनाउंदै जुनसुकै सिजनमा घुम्न सकिने बताए । सांसद ब्ल्याकम्यानले नेपाल जाने आफ्नो योजना सरिरहेको उल्लेख गर्दै छिट्टै जाने आश्वासन दिए ।

कार्यक्रममा इम्प्याक्ट म्याराथन सिरिजका सिइओ निक केर्सले नेपालमा सन् २०१६ को नोभेम्बरमा च्यारिटी स्वरुप अन्तर्राष्ट्रिय म्याराथन हुन लागेको जानकारी दिए । कार्यक्रममा बेलायतस्थित नेपाल पर्यटन वोर्डका प्रतिनिधि ध्रुव केसीले धन्यवाद दिएका थिए । उक्त अवसरमा एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिए ।

nepal uk1