नेपाल-भारत नाकाबन्दी खोल्न बेलायतका एक सांसदले पहल सुरु गर्नुभएको छ ।
उहाँले आफ्ना प्रधानमन्त्री डेभिड क्यामरुनलाई पत्र पठाउँदै नेपाल–भारत नाकाबन्दी समस्या समाधानमा पहल गरिदिन आग्रह गर्नुभएको हो । यसरी आग्रह गर्नेमा बेलायती सांसद एवं सर्वदलीय संसदीय समितिका नेपाल हेर्ने अध्यक्ष वीरेन्द्र शर्मा रहनुभएको छ ।
शर्माले प्रधानमन्त्री क्यामरुनलाई पत्र पठाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको अघोषित नाकाबन्दीलाई मुख्य एजेन्डा बनाएर समस्या समाधान गरिदिन आग्रह गर्नुभएको हो ।
भारतीय प्रधानमन्त्री मोदी तीन दिने बेलायत भ्रमणका लागि आगामी कात्तिक २५ अर्थात १२ नोभेम्बरमा बेलायतको राजधानी लन्डन आउदै हुनुहुन्छ । मोदीको भ्रमणका सन्दर्भमा नेपालको नाकाबन्दी समस्या समाधानका लागि पहल गरिदिन सांसद शर्माले आग्रह गर्नुभएको हो ।
सांसद शर्माको पत्र प्रधानमन्त्री क्यामरुनले प्राप्त गरिसकेको र जवाफ पनि दिनुभएको जनाइएको छ ।
भारतीय मुलका बेलायती सांसद शर्माले भारतलाई नेपालसँगको पुरानो ऐतिहासिक सम्बन्ध नबिगार्न समेत अनुरोध गर्नुभएको छ ।मंगलबार साँझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित एउटा पर्यटन प्रवर्धन कार्यक्रममा सांसद शर्माले नयाँ संविधान जारी भएकामा नेपाललाई बधाई दिनुभयो ।
यसैबीच, तीन दिने बेलायत भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।
प्रदर्शनको नेतृत्व कांग्रेस सम्वद्ध नेपाली जनसम्पर्क समिति, बेलायतले गर्दैछ । भारतको अघोषित नाकाबन्दीबारे विश्व समुदायसमक्ष जानकारी दिन कार्यक्रम तय गरिएको समितिले जनाएको छ । समितिले सम्पूर्ण बेलायतवासी नेपालीलाई प्रदर्शनमा साथ दिएर ऐक्यवद्धता जनाउन आग्रह समेत गरेको छ ।
नेपालमा अघोषित नाकाबन्दी लगाएकामा आक्रोशित नेपालीले मोदी विरुद्ध १२ नोभेम्बर दिउँसो १२ बजे बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् ।






