१८ कात्तिक । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले आज सभामुख ओनसरी घर्तीसंग शिष्टाचार भेट गर्नुभएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा आज उहाँहरुबीच भेटवार्ता भएको संसद् सचिवालयले जनाएको छ । सभामुख घर्ती र राजदूत टेपलेट््जबीच भएको यो पहिलो औपचारिक भेटवार्ता हो ।
सो अवसरमा सभामुख घर्तीले संविधानको कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण, पुराना कानुन संशोधन गर्ने र पारित गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । यसकार्यमा विपक्षी दलले समेत सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सभामुख घर्तीले भूकम्पपछिको स्थितिमा पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेको र छिट्टै पारित हुने विश्वास दिलाउनुभयो । देशमा अहिले भइरहेका समस्या समाधान गर्न सरकार र राजनीतिक दलहरु आफ्नो ठाउँमा सक्रिय रहेको जानकारी दिँदै सभामुखले समस्या छिट्टै समाधान हुने विश्वास दिलाउनुभयो ।
सो अवसरमा राजदूत टेपलेट्जले सभामुख घर्तीलाई सभामुख पदमा निर्वाचित हुनुभएकोमा बधाई र शुभकामना व्यक्त गर्नुभयो । राजदूत टेपलेट्जले संविधान कार्यान्वयनका लागि व्यवस्थापिका-संसद्लाई आवश्यक पर्ने सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।
उहाँले आगामी हप्ता अमेरिकी काँग्रेसका २५ सदस्य नेपाल भ्रमणमा आउन लागेको जानकारीसमेत गराउनुभयो ।
भेटका अवसरमा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव मुकुन्द शर्मा र परराष्ट्र मन्त्रालयका प्रतिनिधि शाखा अधिकृत बाबुराम सिग्देलको पनि उपस्थिति रहेको उहाँका निजी सचिव सुरजकुमार दुराले बताउनु भयो । रासस
अमेरिकाले भन्यो- नेपालको संविधान कार्यान्वयनका हामीले के सहयोग गर्नुपर्छ ?







