ब्रिटिश उपनिवेसबाट स्वतन्त्र भएको सात दशक बित्दा पनि अझै कर तिर्दैछ भारत

The Indian tricolour national flag is seen flying above the Mantralaya state secretariat building in Mumbai on September 27, 2012. AFP PHOTO/ INDRANIL MUKHERJEE (Photo credit should read INDRANIL MUKHERJEE/AFP/GettyImages)

नयाँ दिल्ली- ब्रिटिश उपनिवेसबाट भारत स्वतन्त्र भएको सात दशक बित्दा पनि अझै गुलामीको चक्रबाट मुक्त हुन सकेको छैन ।

भारतले आफ्नै देशमा एउटा रेलवे ट्रयाक संचालनबापत बेलायतको एक नीजि कम्पनीलाई अझै वार्षिक १ करोड २० लाख रुपैयाँ तिर्दै आएको छ ।

महाराष्ट्रको यमतमालबाट अचलपुरबीच चल्ने शकुन्तला रेल रुटमा रेलवे संचालनबापत भारत सरकारले ब्रिटिश कम्पनीलाई वार्षिक कर तिर्दै आएको हो ।

यो रुटमा संचालन हुने रेल ‘शकुन्तला एक्सप्रेस’ कै कारण यो रुटलाई ‘शकुन्तला रेल रुट’ पनि भन्ने गरिन्छ । अमरावती क्षेत्र कपास उत्पादनका लागि प्रख्यात छ । स्थानीय कपासलाई बजारसम्म लैजानका लागि अंग्रेजहरुले यो रुट निर्माण गराएका थिए ।

सन् १९०३ मा ब्रिटिश कम्पनी क्लिक निक्सनले निर्माण सुरु गरेको यो रुट सन् १९१६ मा सम्पन्न भएको थियो । सन् १८५७ मा स्थापित यो कम्पनीलाई हाल सेन्ट्रल प्रोभिन्स रेलवे कम्पनीका नामले चिनिन्छ ।

ब्रिटिशकालमा नीजि कम्पनीले नै रेल नेटवर्क निर्माणको काम गर्दथ्यो ।

सन् १९५१ मा भारतीय रेल राष्ट्रियकरण भएको हो । तर यही एकमात्र रेलवे रुट भारत सरकारको अधिनमा थिएन । यो रुटको सट्टामा भारत सरकारले उक्त बेलायती कम्पनीलाई वार्षिक एक करोड २० लाख रुपैयाँ कर तिर्दै आएको छ ।