पाहुना आएका छोरी ज्वाईंसहित ४ जनाको जलेर मृत्यु

धादिङ, १९ माघ । जिल्लाको चरौदी गाविस वडा नं १, धुषामा आइतबार बेलुका आगलागी हुँदा  ४ जनाको जलेर मृत्यु भएको छ । स्थानीय किशोर चन्द्र थपलियाको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा  उनको परिवारका ४ जनाको ज्यान गएको हो ।

आगलागीमा परी ज्यान गुमाउनेहरुमा थपलियासहित उनको ज्वाईँ अनिल जिसी,छोरी योजना जिसी,नाति रोजेट जिसी रहेका छन्  ।उनीहरु काकाको घरमा भएको विवाह समारोहमा भाग लिन शनिबार आएका थिए । आइतबार   बिहेको भोज खाएर उनीहरु सुतेको केहीबेरमै आगलागी भएको थियो ।

थपलियाको ४८ वर्षीय श्रीमती अर्ण कुमारी थपलिया गम्भीर घाइते भएकी छन् ।  उनलाई उपचारका लागि काठमाडौं ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

राति करिब १ बजे विद्युत्त सर्ट भई भएको आगलागीबारे थाहा नपाउँदा यति ठूलो मानवीय क्षति हुन पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई तले जस्ताको छानो भएको घरमा लागेको आगलागी नियन्त्रणमा आइसकेको छ । प्रहरीले अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

गत शुक्रबार काभ्रेको पनौति १० सुनथानमा  विद्युत सट भएर घरमा आगो लागेर तीन जनाको ज्यान गएको दुःखद घटना सेलाउन नपाउँदै अर्को दुःखद घटना भएको हो ।