कालीगण्डकीमा जलयात्रा गर्न आउने पर्यटक बढे

kali gandakiपर्वत- जलयात्रा (र्‍याफटिङ)को सिजन सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

जलयात्राका लागि ख्याति कमाएको कालीगण्डकीमा पर्यटकको आगमन हुन थालेपछि व्यवसायीसमेत उत्साही भएका छन् । जाडो यामको समाप्तिसँगै फागुनको अन्तिम सातादेखिनै जलयात्राका लागि पर्यटक आउन थालेका हुन् । छोटो र पारिवारिक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनिएको कालीगण्डकी नदीमा आउने पर्यटकको घुइँचो लाग्न थालेको छ । लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् ।

र्‍याफटिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकस“गै स्वेदशी पर्यटकको समेत आवागमन बढेको प्याडल नेपालका रिभर गाईड रविन गुरुङले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीमा अहिले दैनिक दुईदेखि १० समूहमा पर्यटक आउने गरेका छन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको गुरुङले बताउनुभयो । पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएको व्यवसायी बताउँछन् ।