अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाली क्रिकेटमा देखिएको विवाद समाधानका लागि धेरै समय कुर्न नसकिने बताएको छ।
आइसीसीका विकास निर्देशक टिम एन्डरसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निकट भविष्यमा क्रिकेटमा देखिएको विवाद समाधान भएको हेर्न चाहेको बताए।
‘हामी नेपालमा देखिएको क्रिकेट क्रेजप्रति सकारात्मक छौं, तर यसो भन्दैमा विवादको विषयमा धेरै समय धैर्य गर्न सक्दैनौं,’ उनले भने। एन्डरसन विश्व क्रिकेट लिग अन्तर्गत नेपाल र नामिबियाको खेलका लागि आएका हुन्।
नेपाली क्रिकेटमा विवाद देखिएपछि विश्व क्रिकेट लिग आइसीसीको आयोजनामा भएको हो।
प्रतिबन्ध लगाउने संकेत
एन्डरसनले नेपाली क्रिकेटको विवादमा धेरै धैर्य गर्न नसकिने बताए। उनले बिवाद लम्बिरहे नेपाल क्रिकेट संघलाई प्रतिवन्ध लगाउनेसमेत संकेत दिए। अमेरिकाको क्रिकेट संघलाई प्रतिवन्ध लगाएको उदाहरण दिँदै उनले क्यानलाई प्रतिबन्ध लगाएमा खेलाडीहरुले आइसीसीको छातामुनि खेल्न पाउने स्पस्ट पारे।






