प्रधानमन्त्री टरिजा मेलाई पदबाट हटाउने कि नहटाउने भन्ने विषयमा ब्रिटिश सांसदहरूले बुधवार राति मतदान गर्दैछन्।
वैधानिक प्रावधान अनुसार सत्ताधारी कन्जरभेटिभ पार्टीका ४८ जना सांसदहरूले प्रधानमन्त्री मेको नेतृत्वलाई चुनौती दिँदै पत्र लेखेपछि संसद्मा अविश्वासको प्रस्तावमा मतदान हुनुपर्ने प्रावधान सक्रिय हुन पुगेको थियो।
टरिजा मेले आफूले अविश्वास प्रस्तावको सामना गर्ने बताएकी छन्। अहिलेको समयमा नयाँ नेता चयन गर्ने प्रक्रियाका कारण देशमा अस्थिरता उत्पन्न हुने उनको तर्क छ।
युरोपेली संघ इयुबाट ब्रिटेन बाहिरिने विषयमा उक्त गठबन्धनसँग उनले गरेकी सहमतिका कारण ब्रिटिश प्रधानमन्त्रीले चर्को दबाबको सामना गरिरहेकी छन्।
अब ब्रिटिश संसद्मा अविश्वास प्रस्तावमाथिको मतदान कसरी अघि बढ्छ त?
अविश्वासको प्रस्ताव भनेको के हो र त्यसले कसरी काम गर्छ?
ब्रिटेनमा कुनै राजनीतिक पार्टीका निश्चित सङ्ख्याका सदस्यले आफ्नो पार्टीको नेता फेर्नका लागि गर्ने प्रयासलाई लिडरशिप च्यालेञ्ज अथवा नेतृत्वलाई चुनौती भन्ने गरिन्छ।
त्यस्तो प्रक्रियाका लागि हरेक पार्टीको आआफ्नै नियम तथा प्रावधान छन्।
कन्जरभेटिभ पार्टीको नियम अनुसार संसद्मा पार्टीको प्रतिनिधित्व गर्ने सांसद सङ्ख्याको १५ प्रतिशतले नेतृत्वलाई चुनौती दिने प्रावधान सक्रिय तुल्याउन सक्छन्।
अहिलेको सन्दर्भमा त्यस्तो न्यूनतम सङ्ख्या ४८ जना रहेको छ। ती सांसदहरूले १९२२ कमिटि भनिने निकायमा पत्र लेखेर आफ्नो पार्टी नेताप्रति आफूहरूको विश्वास नरहेको जानकारी दिनुपर्छ।
उक्त कमिटिका अध्यक्ष ग्राहम ब्र्याडीले बुधवार आफूलाई निर्धारित सङ्ख्याका सांसदहरूबाट पत्र प्राप्त भएको र प्रधानमन्त्री टरिजा मेको नेतृत्वलाई औपचारिक रुपमा चुनौती दिइएको पुष्टि गरेका थिए।
अब के हुन्छ?
बुवार बेलुकी एउटा गोप्य मतदानको आयोजना गरिनेछ र प्रधानमन्त्रीलाई पदबाट हटाउनका लागि उनका विपक्षीहरूले १५८ मत प्राप्त गर्नुपर्नेछ।
मतदानमा टरिजा मेको जित भएमा उनको पद निरन्तर रहन्छ र आगामी एक वर्षसम्म उनले फेरि नेतृत्वको चुनौती बेहोर्नुपर्ने छैन।
बुधवार प्रधानमन्त्री कार्यालय टेन डाउनिंग स्ट्रिटमा बोल्दै उनले भनिन्: “म आफ्नो पूर्ण क्षमता लगाएर यो प्रस्तावमाथिको मतदानको सामना गर्नेछु।”
तर मतदानमा पराजित भएमा कन्जरभेटिभ पार्टी नेताको पदबाट उनले राजीनामा दिन कर लाग्नेछ। र त्यसको अर्थ उनी संयुक्त अधिराज्यको प्रधानमन्त्रीको पदबाट पनि हट्नुपर्नेछ।
त्यसपछि पार्टीभित्र नयाँ नेतृत्वको चयन प्रक्रिया आरम्भ हुनेछ जसमा निवर्तमान प्रधानमन्त्री सहभागी हुन पाउँदैनन्।
नयाँ नेतृत्व चयनको प्रक्रिया कस्तो हुन्छ?
सामान्यतया सांसदहरूले पार्टीका सदस्यहरू समक्ष प्रस्तुत गर्न दुईजना उम्मेदवार चयन गर्नुपर्छ।
तर त्यसका लागि हप्तौँ लाग्न सक्छ। हाल ब्रेक्जिटसम्बन्धी समयसीमाका कारण कन्जरभेटिभ पार्टी समयको ठूलो दबाबमा छ।
यदि एकजना मात्र उम्मेदवार प्रस्तुत गरिएमा पार्टीका सदस्यहरूबाट मतदान नगरिकनै त्यो व्यक्ति नेता चुनिन्छ।
अब हालको विभाजित परिस्थितीमा सांसदहरूले पार्टी नेतृत्वका लागि एकजना मात्र उम्मेदवारको नाममा सहमति जनाउन सक्ने अवस्था कठिन देखिन्छ।
यदि तीनजना वा त्यो भन्दा बढी उम्मेदवार भएमा पार्टीका सांसदहरूले दुईजना मात्र बाँकी नरहँदासम्म एक एकजनालाई हटाउने गरी हरेक पटक मतदान गर्नुपर्ने हुन्छ।
आमनिर्वाचन नहुँदासम्म टोरी पार्टी नेतृत्वको विजेता नै ब्रिटेनको प्रधानमन्त्री बन्नेछन्।
source : bbc nepali






