‘कान्तिपुर’ को भ्यानमा आगजनी

लहान, ६ माघ  – पत्रिका वितरणका लागि पश्चिमतर्फ गइरहेको ‘कान्तिपुर’ दैनिकको पिकअप भ्यानमा आज बिहान सिरहाको कर्जनहा गाविसस्थित प्रयागपुरमा बिहान ९ बजेतिर आगजनी भएको छ ।

बन्दकर्ताको एक समूहले पत्रिका वितरणका लागि विराटनगरबाट पश्चिमतर्फ गइरहेको बा९च ५८५० नंको पिकअप भ्यानमा पेट्रोल छर्केर आगो लगाएको जनाइएको छ । आगजनीबाट भ्यानको अगाडिको सिट जल्नाका साथै अगाडिको सिसा क्षतिग्रस्त भएको छ । बन्दकर्ताले आफूहरुको आन्दोलनको समाचारलाई प्राथमिकता नदिएको भन्दै भ्यानमा रहेको पत्रिकासमेत जलाएका छन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाका अनुसार आगजनीको खबर पाएलगत्तै प्रहरी टोली पुगेर भ्यानमा लागेको आगो निभाइएको थियो । प्रहरीले आगजनीमा क्षतिग्रस्त भ्यानलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा ल्याएर राखेको छ ।

बिहानैदेखि बन्दकर्ताहरु पूर्वपश्चिम सडकका विभिन्न खण्डमा एकत्रित भएका थिए । पत्रिका बोकेको भ्यानसँगै रहेको ‘अन्नपूर्ण पोष्ट’ दैनिक र ‘नागरिक’ दैनिक पत्रिका बोकेको भ्यान भने सकुशल पश्चिमतिर गएको प्रहरीले जनाएको छ ।