माघ ६ – एमाओवादी, मधेसी मोर्चा, नेकपा माोवादी र जनजातिको संयुक्त मोर्चाले आह्वान गरेको नेपाल बन्दले मुलुकभरकै जनजीवन प्रभावित भएको छ । राजधानी लगायत देशभर प्रदर्शन र बन्द गरिएको समाचार आएको छ । कतिपय ठाउँमा झडप भएको छ भने बन्द कर्ताले पत्रिका र सर्वसाधारणको गाडी समेत जलाएका छन् ।
राजधानीमा पत्रिका लुटियो
२ वटा ट्रकमा आगजनी
बन्दको क्रममा अज्ञात समूहले चितवनमा २ वटा ट्रकमा आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बीरगञ्जबाट भरतपुरतर्फ आउदै ना३ख ३५८६ नम्बरको ट्रकमा अपरिचित समूहले भरतपुर १२ आस्था चोकमा बिहान करिब ४ बजे आगजनी गरेको हो । कान्तिपुर पब्लिकेसनको पत्रिका छाप्ने न्युज पि्रन्ट कागज बोकेको उक्त ट्रकको अगाडीको भाग, चक्का र पत्रिका छाप्ने रोल जलेको छ । लोड भएको कागज जलेर काम नलाग्ने अवस्थामा पुगेको छ । बिहान पौने ७ बजे आगलागी नियन्त्रणमा लिइएको थियो ।
यसैगरी पूर्वपश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा बिहान ना४ख ८५२३ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । आगलागीलाई नियन्त्रण गर्न सुरक्षाकर्मी र भरतपुर उपमहानगरपालिकाको वारुण यन्त्रण खटेको छ । बन्दले सवारी साधन रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।
बन्दले बर्दियाको जनजीवन प्रभावित
सदरमुकाम गुलरिया लगायत जिल्लाका व्यापारिक प्रतिष्ठान बन्द भएका छन् । शिक्षण संस्थान बन्द छन् । लामो तथा छोटो दुरीको सवारी साधन चलेका छैनन् । तर काठमाण्डौ लगायत मुलुकको अन्य ठाउबाट आएका रात्रि बस भने प्रहरीले गन्तव्य सम्म स्कर्टिङ गरी पुर्याएको छ ।
मोटरसाईकल फाटफुट रुपमा चलेको छ । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सिरहा प्रभावित
बन्दका कारण मंगलबार सिरहाको जनजीवन प्रभावित छ । सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैया, सिरहा बजार पसल, शैक्षिक संस्था, कलकारखाना वन्द छन् ।
ग्रामीण क्षेत्रका बजार, पसल समेत बन्द रहे । बन्दकर्ताहरुले मोटरसाइकल सञ्चालनमा समेत रोक लगाएका छन् ।
पाल्पाको जनजीवन प्रभावित
बन्दकर्ता बिहानै ५ बजे सडकमा उत्रिएका छन् । उनीहरुले सडकमा कुनै पनि सवारी साधन सञ्चालन हुन दिएका छैनन् । बिहानै खुल्ने क्याम्पस, विद्यालय चल्न सकेका छैनन् । बिहान छुट्ने कुनै पनि सवारी साधनलाई छुट्न दिएनन् । तानसेनमा बिहानैदेखि पसल बन्द छन् । आन्दोलनकारीले सोमबार बेलुका तानसेनमा सिठ्ठी जुलुस निकालेर बन्दलाई समर्थन गर्न सबैलाई आग्रह गरेका थिए ।
बन्दकर्ताले तानसेनको सित्तलपाटी, सिल्खानटोल टक्सारटोल, नारायणस्थान लगायतका स्थलमा नाराबाजी गर्दै जुलुस गरेका छन् । बिहानैदेखि चोक चोकमा कोणसभा भएका छन् ।
बन्दले उदयपुरको जनजीवन प्रभावित
बन्दका कारण आज बिहानैदेखि उदयपुर जिल्लाकेा जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण सदरमुकाम गाईघाट लगायत मुख्य व्यापारीक केन्द्र कटारी, मुर्कुची, बेल्टार र रामपुर संगै ग्रामिण क्षेत्रबाठ संचालन हुने लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन । विद्यालय, कलकारखाना बन्द छन । बजार पसल बन्द हुँदा सर्वसाधरणले सास्ती खेप्नु परिरहेकेा छ ।
सदरमुकाम गाईघाट बजारमा सामन्य चिया, औषधि र तरकारी पसल खुलेपनि व्यापार व्यावसाय चलेको छैन । सडकमा फाटफुट साईकल कुदेका छन ।
बन्दले माघे औंसी मेला प्रभावित
आज माघे औंसिका दिन नवलपरासीको प्रशिद्ध त्रिवेणीधाममा लाग्ने माघे औसीं मेला तीस दलीय बन्दका कारण पूरै प्रभावित भएको छ । माघे औंसिका दिन त्रिवेणीमा हरेक वर्ष नेपाल भारतका हजारौ तिर्थालुहरु स्नान गर्न र श्राद्ध गर्न आउने गर्दर्थे ।
कोहलपुरमा शान्ती र्याली
कोहलपुरमा बन्द बिरुद्ध शान्ति र्याली निकालिएको छ । ठाउँठाउँमा बन्द आह्वानकर्ता एमाओवादी मोर्चा सहितको संयुक्त जनआन्दोलन समिति र शान्ति र्याली पक्षधर ब्यापारी-विद्यार्थी लगायतले नारा जुलुस गरिरहेका छन् ।
दुबै पक्षलाई रोक्न प्रहरीलाई हम्मेहम्मे भएको छ । पक्ष र बिपक्षको उग्र पदर्शनले कोहलपुरकोे वातावरण तनावमय छ । बन्दकर्ताहरु कोहलपुर चौराहामा बसेर नारा लगाइरहेका छन् । शान्ति र्याली पक्षधरहरु न्यूरोड चोकमा भेला भएका छन् । प्रहरीले दुबै पक्षलाई रोकेर राखेको छ ।
शान्ति र्यालीमा कोहलपुरका ब्यापारी, विद्यार्थी र स्थानीयको ठुलो उपस्थिति छ । उनीहरुले बजार खोल्न आह्वान गरेका छन् । बिहानदेखि बन्द बजार र्यालीपछि फाटफुट खुल्न थालेको छ । शान्ति र्यालीमा एमाले, काँग्रेस लगायत पार्टीका स्थानीय कार्यकर्ताको पनि उल्लेख्य उपस्थिति रहेको छ
बन्दकर्ता र व्यवसायीबीच झडप आधा दर्जन घाइते
बन्दकर्ता र स्थानीय व्यवसायीबीच भएको झडपमा आधादर्जन घाइते भएका छन् । सदरमुकामको मदनचोक र चुवाको बोटमा बन्दकर्ता र बन्दको बिरोध गर्दै शान्ति र्यालीमा निस्किएका व्यवसायीबीच झडप भएको हो ।
झडपमा व्यवसायीहरु सरोज श्रेष्ठ र सोभित श्रेष्ठ घाइते छन् । टाउकोमा चोट लागेका उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । घाइते बन्दकर्ताको नाम खुलेको छैन् । उनीहरुको प्रहरी कार्यालयभित्रै उपचार भइरहेको बताइएको छ ।






