साना दुई दल मन्त्रिपरिषदमा थपिँदै, थापा र गच्छदार पनि लाइनमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् । प्रचण्डले साना दुई दलका दुई नेतालाई समेटेर बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्का र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहलाई मन्त्री बनाउन लागेका छन् । खड्काले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र सिंहले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउँदै छन् । यी दुवै मन्त्रालय प्रधानमन्त्री आफैँले सम्हाल्दै आएका छन् । पटकपटक मन्त्री भएका सिंह यसअघिका दुवै सरकारमा थिए भने खड्का पहिलोपटक मन्त्री हुँदै छन् ।

राष्ट्रपति कार्यालयमा बिहीबार दिउँसो खड्का र सिंहको शपथ कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्रीले बुधबार नै राष्ट्रपति कार्यालयमा पत्र पठाइसकेका छन्।

थापा र गच्छदार पनि लाइनमा
प्रधानमन्त्री प्रचण्डसँगको छलफलमा राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सरकारमा सहभागी हुने संकेत दिएका थिए । तर, सरकारमा सहभागी गराउन थापालाई कांग्रेसले र गच्छदारलाई उनकै पार्टीभित्रका नेताहरूले अप्ठ्यारो पारेका छन् ।

प्रधानमन्त्री प्रचण्ड थापालाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र गच्छदारलाई उपप्रधानमन्त्रीसहित सञ्चार मन्त्रालयको जिम्मेवारी दिन तयार थिए । यसो गर्दा प्रधानमन्त्री प्रचण्डपछिको वरीयतामा थापा र गच्छदार पर्ने भन्दै कांग्रेसले मानेको छैन । अहिले प्रधानमन्त्री प्रचण्डपछिको बरियतामा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि छन् । थापा र गच्छदार सरकारमा सहभागी भएमा निधिभन्दा सिनियर हुने भन्दै कांग्रेस सकारात्मक नभएको हो ।