काठमाडौं– जुलियन असान्जे संस्थापक रहेको विकिलिक्सको चर्चा एक समय खुवै थियो । गोप्य गतिविधिहरु सार्वजनिक गरेर चर्चा कमाएको विकिलिक्स शैलिलाई सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा उच्च नैतिक चरित्र नभएको भन्दै अयोग्य ठहर गरेका लोकमानसिंह कार्कीले पनि पछ्याउने तयारी गरेका छन् ।
उनले नेपालका राजनीतिक दलका नेता, अदालत, प्रशासक र आफ्ना विरोधीलाई विकिलिक्स शैलिमै भ्रष्टाचारका दस्तावेज सार्वजनिक गर्ने तयारी गरेका छन् । स्वास्थ्य उपचारका नाममा भारत पुगेर क्यानडा जाने तरखरमा रहेका कार्कीले उतैबाट आफ्ना विरोधीहरुलाई ठेगान लगाउने अन्तिम उपायका रुपमा ‘विकिलिक्स शैली’ अपनाउन लागेको लोकमान निकट स्रोतले बताएको छ ।
अमेरिकी सेनाको अति गोप्य कागजातहरु सार्वजनिक गरेर विकिलिक्सले संसारभर हलचल मच्चाएझैं कार्कीले पनि माओवादी शिविरमा नक्कली लडाकु बनाई भएको अरबौं भ्रष्टाचार, मानव अधिकारको नाममा खोल ओढेर भित्र्याइएको अरबौं रकमले दुरुपयोग गरिएका निकाय, व्यक्ति र संस्थाको विवरण सार्वजनिक गर्ने तयारीमा छन् ।
कार्कीले प्रधानन्यायाधीश सुशीला कार्की, प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्य मन्त्री गगन थापा, ऊर्जामन्त्री जनार्दन शर्मा, कांग्रेस सांसद धनराज गुरुङ, रामहरि खतिवडा, सञ्चार उद्यमीद्वय कनकमणि दिक्षित र कैलाश सिरोहियाको कुनै न कुनै काण्ड सार्वजनिक गरेर बदला लिने डिजाइन रचेको स्रोतले बतायो ।






