काठमाडौंको गोंगबुबाट १५ वर्षीय पेम्बा लामाको बिहीबार मध्यान्ह १२ बजे एक सय २० घण्टापछि सकुशल उद्धार गरिएको छ । शनिबार नेपालमा गएको शक्तिशाली भूकम्पमा सात तलाको घरमुनि थिचिएका नुवाकोटका लामालाई सशस्त्र प्रहरी बल विपत व्यवस्थापन सेलका प्रहरी निरीक्षक लक्ष्मण बस्नेतले पाँच घण्टाको अथप प्रयासपछि बिहीबार सकुशल उद्धार गरिएको हो । अहिले लामाको नेपाली सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ ।
गोंगबुका हिल्टन गेष्ट हाउसको सात तले भवनको पहिलो तलामा थिचिएर बसेका लामालाई आफ्नो ज्यानको बाजी लगाएर उद्धार गरेका बस्नेतले लामा जस्तै पुरिएका अरुहरुको पनि उद्धार कार्यमा लाग्ने बताएका छन् । ‘यो हामी सवैको सफलता हो, असंभव तथ्यलाई हामीले संभव तुल्याउन सफल भएका छौं’, उनले भने ।
दुई दिनअघि सोही स्थानमा एक जनालाई उद्धार गर्नेक्रममा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका बस्नेतको सबैले प्रशंसा गरेका छन् । बस्नेतलाई हौसला दिन तथा उद्धार कार्यमा भइरहेको प्रगति लगायतका बारेमा जानकारी लिन गोंगबु पुगेका शसस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले बिहीबार उद्धार गरिएका लामाको भनाइ उद्धृत गर्दै भने, ‘अझै दुई जना बच्चा भित्र जीवित रहेका छन् ।’
चार वटा गेष्टहाउस रहेका पाँच वटा भवन भत्किँदा कति पुरिएका छन् एकीन गर्न नसकिने वन्तले बताए । यसअघि सोही स्थानबाट १३ वटा शव निकालिएको उनले जानकारी दिए । भूकम्प आउँदा सोही स्थानबाट भागेर ज्यान जोगाएका विजय लामाका अनुसार एक सय भन्दा बढी पुरिएका छन् ।
चाइनिज, अमेरिकी लगायतका विदेशी सेना समेत उद्धार कार्यमा लागिरहेको उक्त स्थानबाट पुरिएकाहरुको जीवितै उद्धार गर्ने उद्देश्यले सावधानी पूर्वक काम भइरहेका उद्धार कार्यमा लागेका सुरक्षाकर्मीहरुले जानकारी दिए ।







