काठमाडौं , २९ पुस । बंगुर अब धराने ब्राण्डमात्र रहेन । पछिल्लो समय बंगुरको मासु लोकप्रिय बनेसंगै यसको व्यापार सर्वत्र फैलिएको छ ।
बंगुर व्यवसायी संघ, नेपालको आयोजनामा १ माघदेखि राजधानीको भृकुटीमण्डपमा ‘पोर्क महोत्सव तथा दोस्रो बंगुरपालन व्यवसाय राष्ट्रिय कार्यशाला गोष्ठी’ हुने भएको छ ।
तीन माघसम्म चल्ने मेलाबाट मुलु्कको बंगुरपालन, बंगु्रजन्य व्यवसाय तथा पोर्कको बजारीकरण प्रवर्द्धन गर्ने उदेश्य राखिएको व्यवसायी एलसपी साँवा लिम्बुले बताए । संघ अध्यक्ष उमेशकुमार राइले पोर्क महोत्सव र कार्यशालाबाट मुलुकमा बंगुरपालनलाई व्यावसीक रुपमा अगाडी बढाउन मदत मिल्ने अपेक्षा राखेको बताए ।
‘हामीले मेला आयोजनबाट व्यवसायीक बंगुरपालनमा टेवा पुग्ने र आम नागरिकलाई बंगुरपालनको अवस्थाबारे जानकारी दिने उदेश्य राखेका छौं’ उनले भने । मुलुकको जुनसुकै क्षेत्रमा बंगुरपालन गर्न सकिने भएपनि व्यवसायिकतामा कमी देखिएको उनले बताए ।
पशु सेवा विभाग अन्तर्गतको पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. विमलकुमार निर्मलले मुलुकमा पछिल्लो समय बंगुरपालन व्यवसाय विस्तार भइरहेको बताए । सरकारी स्तरबाट पनि ३६ जिल्लामा बंगुर पालन प्रवर्द्धन कार्यक्रम भइरहेको उनले जानकारी दिए ।
संघका महासचिव डिल्ली पौडेलले पहिलो पटक आयोजना भएको महोत्सवमा बंगुरको मासुका विभिन्न परिकारको स्वाद लिन सकिने बताए । त्यस्तै एकलाखसम्म अवलोकनकर्ता आउने अपेक्षा राखेको जानकारी दिए । मेलामा ७० भन्दा बढी स्टल रहने उनले जानकारी दिए ।
‘बंगुरको मासुबाट बन्ने विभिन्न परिकारको स्टल हुनेछ’ उनले भने, ‘त्यस्तै व्यवसायीले दाना, औषधि र बंगुरपालनका लागि चाहिने सामग्री पनि प्रर्द्धशनमा राखिनेछ ।’
मेलाको दोस्रो र तेस्रो दिन कार्यशाला गोष्ठि पनि उनेछ । गोष्ठिमा दुइ सय किसान, व्यवसायी र सरकारी प्रतिनिधिको सहभागिता रहने संघले जनाएको छ ।
मुलुकभर ८५ हजार घरपरिवार बंगुरपालनमा रहेको सरकारी तथ्यांक छ । त्यसमध्ये १० प्रतिशत मात्रै व्यावसायीक बंगुर पालनमा रहेको महोत्सव मूल व्यवस्थापन समितिका सदस्य सचिव डा. प्रदिपचन्द्र भट्टराइले जानकारी दिए ।







