चिसो बढेपछि सामुदायिक विद्यालयमा छुट्टी

२९ पुस, कञ्चनपुर । अत्यधिक चिसो बढ्न थालेपछि कञ्चनपुरका सामुदायिक विद्यालयमा एक साताका लागि छुट्टी दिइएको छ ।

जिल्लाको पूर्वी क्षेत्रका झलारी र कृष्णपुर स्रोत केन्द्रअन्तर्गतका झन्डै आठ दर्जनभन्दा बढी सामुदायिक विद्यालयमा छुट्टी दिइएको हो । कुहिरो र शीतलहर चल्न थालेपछि विद्यालयमा पढ्ने विद्यार्थी विद्यालयमा आउने क्रममा निकै कमी आउन थालेपछि स्रोत केन्द्रस्तरीय निर्णय गरी विद्यालयमा छुट्टी दिइएको शिक्षक भरतबहादुर ऐरले जानकारी दिए ।
‘सबैभन्दा बढी शीतलहरका कारण प्राथमिक तहका विद्यार्थी बढी प्रभावित हुन थालेपछि छुट्टी दिने निर्णय गरिएको छ’, उनले भने । माघ ४ गतेसम्मका लागि विद्यालय बन्द गरिएका छन् । कञ्चनपुरमा चार दिनदेखि घाम नलाग्दा लगातार शीतलहर चल्दा जनजीवन कष्टकर बन्दै गएको छ । रासस