काठमाडौँ, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहलाई स्वाभिमानी नेपालीले आदर गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले शाहको जन्मजयन्तीलाई औपचारिक रुपमा सरकारले एकता दिवस मनाउन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो–“दोस्रो जनआन्दोलनको रापतापमा सो जयन्तीलाई बिर्सिएर एकता दिवस मनाउने परम्परा अन्त्य गरिएको छ, त्यो गलत छ, त्यसलाई सच्याउनुपर्छ भन्ने आम जनताको भावना रहेको छ ।”
पृथ्वी जयन्ती आउँदा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका नेताल पृथ्वी जयन्तीलाई सम्मान गर्नुपर्छ भन्नुहुन्छ तर राष्ट्रिय एकता दिवसका रुपमा नमनाउनुका कारण के हो ? कुन शक्तिको दबाब छ ? भनी उहाँले प्रश्न गर्नुभयो ।
पर्टीका राष्ट्रिय नेता पशुपतिशम्शेर राणाले केही समययता पृथ्वीनारायणको योगदान ओझेलमा परेकामा चिन्ता व्यक्त गर्दै उहाँले दुःखले आर्जेको मुलुकलाई विखण्डन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपा (माले)का महासचिव सिपी मैनालीले तत्कालीन समयमा छरिएको राज्यलाई एकीकरण गरी पृथ्वीनारायण शाहले राज्यलाई एकढिक्का बनाई नेपाल र नेपालीलाई विश्व परिवेशमा परिचित बनाएको विचार व्यक्त गर्नुभयो ।






