धरहरा चढेर एमाले अध्यक्षको नयाँ वर्षलाई सन्देश

काठमाडौं, १ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालको अन्तिम दिन आज धरहरा चढी नयाँ वर्षका लागि आफ्नो शुभकामना सन्देश दिनुभएको छ । धरहरा चढेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले २०७२ सालमा नेपाली जनताले नयाँ संविधान पाउने विश्वास व्यक्त गर्नुभयो ।
शीर्ष नेताले शुभकामना सन्देशका लागि वक्तव्य (विज्ञप्ति) दिने प्रचलन तोड्दै अध्यक्ष ओली धरहरा चढ्नुभएको हो ।
उहाँले विद्यमान गतिरोध चाँडै अन्त्य भई देशले निकास पाउने बताउँदै नयाँ वर्षले सम्पूर्ण नेपालीमा उमङ्ग छाओस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले सगरमाथा वेस क्याम्प जाने रहर आफूमा रहेको र चाँडै त्यता जाने जानकारी दिनुभयो ।
राष्ट्रिय बिभूति भीमसेन थापाले बनाएको र हालको ६१ दशमलव ८८ मिटर अग्लो उचाइ रहेको सो धराहरा (भीमससेनस्तम्भ) हरेक प्रजातन्त्र दिवसमा विगुल फुक्ने गरिन्छ । यसअघि लोकतान्त्रिक आन्दोलनको सफलतापछि दिगो शान्तिको कामना गर्दै बरिष्ठ चित्रकलाकार किरण मानन्धरले धरहरामा लगातार १२ घन्टासम्म एकसय १० मिटर लामो क्यानभासमा ‘अबको नेपाल’ नामक चित्रकला प्रदर्शनी गर्नुभएको थियो ।