राष्ट्रिय लिग फुटबल तयारी पूरा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय लिग फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यही माघ ७ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा उपत्यका र मोफसलको गरी नौ टोलीले प्रतिस्पर्धा गर्ने एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले नेपाली फुटबल खेललाई व्यवस्थित र मर्यादित बनाउन ‘होम एन्ड अवे’को आधारमा प्रतियोगिता सञ्चालन गर्न लागेको बताउनुभयो ।
राउन्ड रोबिन लिगको आधारमा हुने उक्त प्रतियोगितामा उपत्यकाका तर्फबाट गत वर्षको लिग विजेता मनाङ मस्र्याङ्दी क्लब, थ्रि स्टार क्लब, नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब छन् ।
त्यस्तै मोफसलका झापा एघार फुटबल क्लब, मोरङ फुटबल क्लब, जगदम्बा लुम्बिनी फुटबल क्लब, बुटवल र सुदूरपश्चिमाञ्चल फुटबल क्बल कैलालीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रत्येक सहभागी टोलीले एक अर्को टोलीसँग एक खेल होममा र एक खेल अवेमा खेल्नेछन् । जम्मा ७२ खेल हुने उक्त प्रतियोगितामा ४० खेल उपत्यकामा र ३२ खेल उपत्यका बाहिर हुनेछ ।
उपत्यकामा दशरथ रङ्गशाला, हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदान र नेपाली सेनाको सैनिक शारीरिक सुगठन तथा तालिम विभागको खेल मैदानमा खेल हुनेछ भने उपत्यका बाहिर झापाको डोमालाल राजवंशी रङ्गशाला, सहिद रङ्गशाला (मोरङ) एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बुटवल र सुदूरपश्चिमाञ्चलको क्षेत्रीय रङ्गशाला धनगढीको खेल मैदानमा हुनेछ ।
उक्त प्रतियोगितामा विजेता टोलीले रु एक करोड प्राप्त गर्नेछ भने उपविजेताले रु ५० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु २५ लाख प्राप्त गर्नेछ भने उत्कृष्ट गोलकिपर, डिफेन्स मिडफिल्ड फरवार्ड र प्रशिक्षकले जनही एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । करिब रु पाँच करोड खर्च लाग्ने उक्त प्रतियोगितामा सहभागी टोलीलाई तयारी स्वरुप रु १५ लाख दिने आयोजकले जनाएको छ ।