काठमाडौं – राप्रपा नेपालका सचेतक दिलनाथ गिरीले तीन प्रमुख दलको सिन्डिकेट पुनः खडा गर्न खोजेको भन्दै आपत्ति प्रकट गरेका छन् । व्यवस्थापिका संसद्को बैठकमा बोल्दै गिरीले इलाकालाई आधार बनाई गाउँ तथा नगर विकासको पुनःसंरचना गर्ने विषयमा तीन दलले गरेको सहमतिको विरोध गरेका हुन् ।
बैठकमा बोल्दै नेता गिरीले भने, ‘प्रमुख तीन दलको बैठकले आगामी स्थानीय तहको निर्वाचिनका लागि तात्कालिन जिल्ला विकासको इलाकालाई केन्द्र विन्दुमा राखी गाउँ तथा नगरविकासको संरचना गर्ने कुरा पत्र पत्रिकामा आएको छ । यो सत्य हो या होइन । आधिकारिक रुपमा यसको जानकारी छैन । तर, यदी यो साँचो हो भने यो संविधानको घोर अपमान हुन्छ । प्रजातन्त्रको मूल्य र मान्यताको विरुद्धमा हुन्छ ।’
उनले संविधानको व्यवस्थाअनुसार यसका लागि आयोग गठन भएको र आयोगले आफ्नो काम अघि बढाइसकेको अवस्थामा संवैधानिक आयोगलाई छाँयामा पार्ने गरी तीन दलले निर्णय गरेको बताए । ‘यो निर्णयपछि यो संविधानको कुनै औचित्य रहँदैन,’ उनले भने ।
उनले तीन दलले सिन्डिकेट पुनः खडा गरेर अन्य दलहरुको अस्तित्वलाई समाप्त पार्न खोजेको समेत अरोप लगाए ।
‘तीन दलले सिन्डिकेटको माध्यमद्वारा मूलुकलाई अघि बढाउन खोजेको हो भने त्यो मुलुकको लागि जहिले अशुभ भएको छ । यसले राम्रो संकेत दिएको छैन,’ गिरीले भने । संविधान निर्माण गर्दा तीन दलको सिन्डिकेटले गर्दा मधेसवादी दल आन्दोलनमा गएको र ठूलो जनधनको क्षति भएको बताए ।
गिरीले तीन दलको सहमति प्रति राप्रपाको घोर आपत्ति रहेको बताए । उनले यसबारे सरकारसँग जवाफ माग गर्दै निर्णयलाई सच्याउन आग्रहसमेत गरे ।






