काठमाडौं– त्रिशुली नदीमा वेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीलाई लिएर सरकारका दुई मन्त्रीवीच फरक फरक धारणा आएको छ ।
बंगलादेशबाट गोताखोर ल्याएर भए पनि घिमिरेको खोजी गर्ने यातायात मन्त्री रमेश लेखकको अभिव्यक्ति आएको २४ घण्टामा उपप्रधानमन्त्री तथा गृहमन्त्री गृहमन्त्री विमलेन्द्र निधिले त्रिशुली नदीमा वेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा बंगलादेशबाट गोताखोर ल्याउन नपर्ने बताएका छन् ।
सुरक्षा प्रमुखसहित चितवन दाह्रचोकको घोप्टेभिर पुगेका गृहमन्त्री निधिले बंगलादेशका गोताखोरभन्दा नेपालका सुरक्षाकर्मी र माझीहरु नै सक्षम रहेको बताए ।
यस अघि सोमबार यातायात मन्त्री रमेश लेखकले घटनास्थलको अवलोकन गरेपछि बंगलादेशबाट गोताखोर ल्याएर भए पनि घिमिरेको खोजी गर्ने बताएका थिए । मन्त्री लेखकको बिफ्रिङपछि प्रधानमन्त्री प्रचण्डले पनि आवश्यक परे बंगलादेशबाट गोताखोर ल्याउन कुटनीतिक पहल गर्ने बताए ।
तर, मंगलबार मन्त्री निधिले भने , ‘नेपाली नदीनालाबारे उनीहरुलाई जानकारी छैन, नेपाली सुरक्षा निकाय र माझीहरुको सहयोगमा खोजी कार्य गर्नुको विकल्प छैन ।’
निधिले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप दुर्घटनास्थलको निरीक्षणपछि मिडियासँग कुरा गरेका थिए ।
गृहसचिव लोकदर्शन रेग्मी, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राई, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीसहित पुगेका गृहमन्त्री निधिले सबै प्रविधिको प्रयोग गरेर खोजी गर्न निर्देशन दिएका छन् ।
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले घिमिरे र पारिवारिक सदस्यहरुको खोजी र उद्धारको कार्यमा सरकारका सबै संयन्त्र र उपायको अवलम्बन गर्दै आवश्यक परेमा मित्रराष्ट्रहरुबाट समेत प्राविधिक सहयोग लिएर कार्य गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।






