Update: धादिङमा खचाखच यात्रु बोकेको बस दुर्घटना, १४ जनाको घटनास्थलमै मृत्यु

धादिङ– उत्तरी धादिङको मार्पाकमा आज यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । अरु ७ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी सहायक निरीक्षक नारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा पहिरो गएको र पहिरो हटाएर बस अघि बढाउँदै गर्दा दुर्घटना हुन पुगेको प्रहरी चौकी दार्खाबाट घटनास्थल पुगेका हवल्दार सुरेन्द्र यादवले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकमध्ये १० जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरु अधिकांश तामाङ समुदायको भएपनि सनाखत हुन बाँकी रहेको छ ।
घाइतेहरुलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि धादिङतर्फ ल्याइदै गरेको प्रहरीले जनाएको छ ।

बसभित्र र हुटमा पनि खचाखच यात्रु रहेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थल सदरमुकाम धादिङबेसीबाट करीब २६ किलोमिटर उत्तरमा पर्छ भने कच्चीबाटो हो ।