काठमाडौँ, १० फागुन । काठमाडौँमा एकाबिहानै दुई किशोरीमाथि एसिड प्रहार हुनुका पछाडि प्रेम प्रस्ताव मुख्य कारण भएको खुलासा भएको छ ।
भ्यालेन्टाइन डेको दिनमा प्रेम प्रस्ताव अस्वीकार गरेको झोँकमा काठमाडौँको वसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार भएको हो । बस्नेतलाई लक्षित गरी छ्यापिएको एसिड लागेर रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता मगर पनि घाइते भएकी छिन् ।

सीमालाई भ्यालेन्टाइन डेका दिन कसैले प्रेम प्रस्ताव राखेको थियो । तर उनले अस्वीकार गरेकी थिइन् । त्यसैको बदला लिन उनीमाथि एसिड प्रहार भएको हुन सक्ने परिवारको अनुमान छ ।
सीमाको अनुहारमा नै एसिड परेको छ । उनलाई केएमसी अस्पताल सिनामंगल रिफर गरिएको अस्पतालले जनाएको छ ।
एसिड प्रहारबाट गम्भीर घाइते संगिताको भने वीर अस्पतालमा उपचार भइरहेको छ । संगिताको छाती र खुट्टामा गम्भीर चोट लागेको छ । प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र पारिएको बताएको छ ।







