काठमाडौं- कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवा समूहले सभापतिसहित पदाधिकारीको टिम उम्मेदवारी सोमबार घोषणा गर्ने भएको छ।
आइतबारको केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि देउवा नेतृत्वको टिम घोषणा हुन लागेको हो। देउवा पक्षका नेता विमलेन्द्र निधिले आइतबार केन्द्रीय समितिको बैठक रहेकाले सोमबार सभापतिसहित पदाधिकारीको टिम घोषणा गरिन लागेको बताए।
देउवा समूहले महामन्त्रीमा अर्जुननरसिंह केसीलाई अघि बढाउने भएको छ। कोषाध्यक्षमा चित्रलेखा यादव, पुष्पा भूषाल या लक्ष्मण घिमिरेमध्येबाट उम्मेदवार तय गरिन लागेको स्रोतले बतायो।
मधेसी र महिला प्रतिनिधित्व हुने भएकाले यादवलाई कोषाध्यक्षमा राख्नुपर्ने जोड देउवा पक्षीय अधिकांश सदस्यको छ। केन्द्रीय सदस्य खुमबहादुर खडकाले भूषाललाई कोषाध्यक्षको उम्मेदवार बनाउन दबाव दिएका छन्। घिमिरेलाई कोषाध्यक्ष बनाउनु पर्ने पक्षमा कुलबहादुर गुरुङ र गोविन्दराज जोशीको समूह छ।
संस्थापनभित्र सभापतिका आकांक्षीहरुबीच आइतबार साँझ निर्णायक छलफल गरेर अघि बढ्ने तय भएको महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए। संस्थापन पक्षले भने टिमको टुंगो लगाएको छैन । टुंगो लाग्न सके संस्थापन पक्ष पनि सोमबार नै टिम घोषणा गर्ने तयारीमा छ।






