काठमाडौ – सलहेस र दीनाभद्रीलाई राष्ट्रिय विभुति बनाइनु पर्ने माग गर्दै काठमाडौंबाट अभियान शुरु गरिएको छ ।
सहलेस र दीनाभद्रीलाई राष्ट्रिय विभूति घोषणा गराउनु पर्ने भन्दै भोर तथा मिथिला पर्यटन अभियानले आइतबारदेखि हस्ताक्षर संकलन अभियान समेत सुरु गरिसकेको छ । पहिलो दिन तीन हजार सर्वसाधारणले हस्ताक्षर गरेको बताइएको छ ।
भोर, अभियानी तथा अनुसन्धानमुलक परोपकारी संस्थाले सन् २००९ देखि नै मुसहर समुदायको समग्र उत्थान लगायत मिथिलाका बहुआयामी सँस्कृति सम्पदाको संरक्षण तथा प्रवद्धनका लागि र मिथिला पर्यटन स्थापित र प्रवद्र्धनका लागि काम गर्दै आएका छन् ।
हस्ताक्षर संकलन गराउने कार्यमा वीर वहादुर महतो, देवेन्द्र राज सिंह, डा सिके सिंह, नागेन्द्र साह, धिरेन्द्र नाथ, विजय महतो, विकेश मल्ल, सुमन घले, विष्णु तिमलसिन्ना, पुष्पा यादव, राम सुधार यादव, प्रदिप रिषिदेव, सागर माझी, अमितेष शाह, लगायतका २५ जना भन्दा बढीले स्वयंसेवकमा काम गरेको भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
यसरी संकलन गरिएको हस्ताक्षरहरु नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाउने अध्यक्ष महतोले जानकारी दिए ।
को हुन सहलेस ?
मिथिलाको हावापानी, खेतखलो, गाउँघर, पशु–पंक्षी, वनजंगल सर्वत्र लोकप्रिय पात्र हुन्, राजा सहलेस । राजर्षी राजा जनकपछि मिथिलामा उनलाई प्रादुर भाव भएको व्यक्तित्व मानिन्छ । पाँचौ–छैठौ शताब्दीतिर मिथिलामा आफ्नो पराक्रम र चमत्कारीक नेतृत्वले गर्दा आजसम्म उनको चर्चा छ । महिसोथा, हालको सिरहा उनको जन्मस्थल हो । उनको वास्तविक नाम भने राजा जयवर्धन सैलेश रहेको थियो ।
यिनी कुनै दन्त्य कथाका पात्र होइनन्, न त पुराणका यशस्वी राजर्षि नै हुन् । उनी त्यतिबेला राजा भएता पनि लोक कल्याणमा सक्रिय थिए जसकारण उनी जनताका प्रिय पात्र बनेको बताइन्छ ।
त्यसैले आज आममानिस नै यिनको अमरत्वको रक्षक बनेका छन् । उनको व्यक्तित्वमा अचम्मको आकर्षण छ । प्रेम, प्रकृति, शौर्य, न्याय र नेतृत्व सबै गुणमा उनी सबल मानिन्थे । सलहेसमात्र नभएर उनका सहयोगी पात्रहरू पनि देउताझैँ पूजन्छिन । पूर्वी नेपाल र उत्तरी बिहार अर्थात मिथिला क्षेत्र सलहेसको कर्मथलो रह्यो । मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको थियो ।
उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका विद्रोही पात्रका रुपमा समेत चिनिन्छ । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पुजा गर्ने गर्छ ।
सिरहाको लहानदेखि चार किलोमिटर पश्चिममा उनको नाममा राखिएको सलहेश फुलबारी छ । हरेक वर्षको नयाँ वर्षमा उक्त फुलबारीमा फुल फुल्ने गर्छ । फुलबारीमा पुजा गर्न आउने मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । यो फुलबारीमा राजा सलहेस फुल टिप्ने जान्थे भन्ने किवंदन्ती रहेको छ ।
सलहेसलाई उनकी प्रेमीका कुशमा मालिनले हरेक दिन त्यहाँ फुलको माला अर्पण गर्थिन भन्ने विश्वास छ । त्यही प्रेमको प्रतिकका रुपमा आज पनि त्यहाँ फुल फुल्ने गरेको विश्वास गरिन्छ ।
वैशाख १ गते त्यहाँ ठुलो मेला लाग्ने गर्छ जहाँ नेपाल र भारतबाट लाखौं मानिस आउने गर्छन ।
को हुन् दीनाभद्री ?
आर्य सभ्यताको प्रभाव बढदै गइरहेको प्रारम्भिक कालमा दीनाभद्रीका दुई दाजुभाई थिए । अहिलेको सप्तरीमा पर्ने कटैया खापमा यिनीहरुको मूल केन्द्र थियो । दिन – भद्री मैथिली समाजका लोक नायकका रुपमा पुजिन्छ । नेपालमा जन्मिएको भए पनि भारतको मैथिल र मुसहर बस्तीमा समेत दीनाभद्रीको गाथा गाइने भएकाले अझ यो अर्थपूर्ण छ ।
सप्तरी जिल्लाको जोगिया जाँजर गाउँमा कालु सदा र आमा नीरसोको कोखबाट दुई पुत्र दीना र भद्री जन्मिएका थिए । बाल्यकालदेखि नै दुवै दाजुभाइ वीर एवम् साहसी थिए । कुश्ती खेल्नमा सिपालु रहनुका साथै सामाजिक न्यायका सच्चा पहरेदारको रुपमा प्रस्तुत भएका कारण उनीहरुको बीरताको चर्चा त्यतिबेला जनजनमा चलेको थियो ।
उनीहरुको मुख्य पेशा भनेको खेती किसानी थियो ।
लोकगाथामा उल्लेख भएअनुसार दाजु दीना र भाइ भद्रीले पाँच मनको कोदालो चलाउने गर्दथे ।
दुवै दाजु भाइ सामन्ती प्रथाका कट्टर विरोधी थिए । गिरहतको हजुरी’ नगरी स्वतन्त्र रुपमा मजदुरी गर्नकालागि मुसहर समुदायलाई प्रेरित गर्ने गर्दथे ।
मजदुरमाथि दमन शोषण गर्ने वा काम गराएर ज्याला नदिने विरुद्ध उनीहरु जाइ लाग्ने गर्दथे ।
जोगिया जाँजरका सामन्त कनक सिंहले उपेक्षित, उत्पिडित एवम् निम्नवर्गका व्यक्तिहरुलाई जबरजस्ती काममा लगाएर मजदुरी समेत दिंदैनथे । एक दिन बिहानै कनकसिंह दीना–भद्रीको आँगनमा गएर खेतमा काम गर्नका लागि आउन भने ।
सिंगो गाउँ नै आफ्नो खेतमा बेगारी खटिरहेको बताएपछि उनीहरुले सामन्त कनकसिंहलाई कठालो समातेर बेस्सरी कुटेको लोकगाथामा प्रसङ्ग उल्लेख छ । उनीहरुको वीरताको सम्बन्धमा अर्को प्रसंग के छ भने सप्तरीको भारतीय सीमावर्ति क्षेत्र कुनौलीमा जोराबर सिंह नाउँका एकजना राजपुतले त्यस क्षेत्रका मानिसलाई शोषण, दमन, अत्याचारका साथै नारी अस्मितामाथि समेत खेल्ने गर्दथे ।
उनले कुनौली क्षेत्र पुर्व, पश्चिम, दक्षिण वा उत्तरतिरबाट पहिलो पटक ससुराली जाने नव विवाहितालाई एक रातको लागि जर्वजस्ती पक्रेर ल्याउँथे ।
यसप्रकारको अत्याचारबाट मुक्ति दिलाउनकालागि दीना र भद्री दुलहीको डोलामा आफै बसी कुनौली पुगेका थिए । उक्त डोला जोराबर सिंहको घर पु-याईन्छ । तत्पश्चात जोरावर सिंहसँग पहलमानी लडेर मारेको कुरा लोकगाथामा उल्लेख भएको पाईन्छ । यसरी एउटा अत्याचारीको अन्त्य गरेर दीना–भदरीले त्यस क्षेत्रका जनतालाई चयनको साँस फेर्ने मौका दिए । सप्तरी सिरहालगायतका मधेशका जिल्लाहरुमा देवी देवताको पूजा गर्ने बेलामा दीना–भद्रीको पूजाको अनिवार्यता हुन्छ ।






