प्रधानमन्त्री निवास बालुवाटार अगाडि अस्थायी शिक्षकहरुको प्रदर्शन

काठमाडौं–अस्थायी शिक्षकहरुले प्रक्रिया पुर्याएर स्थायी गरिनुपर्ने माग गर्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका छन् ।

अस्थायी शिक्षकहरुले सेवा अवधि गणना हुने गरी प्रक्रिया पुर्याएर स्थायी गर्न माग गर्दै सोमबार प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् ।

अस्थायी शिक्षक आन्दोलन समितिका नाममा प्रदर्शन गरेका शिक्षकहरुले शिक्षा ऐनमा गरिएको उपदान दिएर विदा गर्ने व्यवस्थाको विरोध गरेका छन् ।

शिक्षा ऐनमा गरिएको उपदानको व्यवस्था चित्तबुझ्दो नभएको अस्थायी शिक्षकहरुको भनाइ छ । उनीहरुले आफूहरुसँग पढेका विद्यार्थी मुलुकको उच्च तहमा पुगेको भन्दै उच्च तहमा पुग्ने विद्यार्थी उत्पादन गर्ने शिक्षक कसरी अयोग्य भए भनेर प्रश्न गरेका छन् ।

अस्थायी शिक्षकहरुले आफूहरु असक्षम भएर नभइ वर्षौंसम्म विज्ञापन नगरिएका कारण स्थायी हुनबाट वञ्चित भएको भन्दै यसको जिम्मा शिक्षा मन्त्रालयले लिनुपर्ने बताए ।
हाल देशभरि करिब १७ हजार अस्थायी शिक्षक कार्यरत छन् । शिक्षा ऐनको आठौं संशोधनले अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्ने व्यवस्था गरेको छ ।
तर प्रधानमन्त्री निवास अगाडिको प्रदर्शनमा सहभागी शिक्षकले ऐनले सबै अस्थायी शिक्षकलाई स्थायी हुने सुनिश्चित गरेका कारण आफूहरु पठनपाठन छोडेर काठमाडौमा भेला भएको बताएका छन् ।