आयरल्याण्डमा ‘नेपाल आयरल्याण्ड डे’ कार्यक्रम गर्ने तयारी अन्तिम चरणमा

irland लन्डन- आयरल्याण्डमा ‘नेपाल आयरल्याण्ड डे’ कार्यक्रम गर्ने तयारी अन्तिम चरणमा छ । बेलायतस्थित नेपाली दूतावास र नेपाल आयरल्याण्ड सोसाइटीको संयुक्त आयोजनामा आगामी ४ सेप्टेम्बरका दिन डब्लिनस्थित फोनिक्स् पार्कमा कार्यक्रम हुन लागेको हो ।

आयरल्याण्ड र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको १६ वर्ष गाँठमा कार्यक्रम हुन लागेको हो । भूकम्पपछि नकारात्मक असर झेलिरहेको नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल आयरल्याण्ड डे कार्यक्रम गर्न लागिएको बेलायतस्थित कार्यवहाक राजदूत शरदराज आरनले जानकारी दिए ।

नौमती बाजा, आइरिस र नेपाली कल्चरल डान्स, खानाका स्टल, नेपाली हस्तकला सामाग्री प्रदर्शनी, भिजिट नेपाल फोटो प्रदर्शनी, आइरिस आरोहीहरुको अनुभव आदानप्रदान कार्यक्रममा प्रमुख आकर्षण रहने सोसाइटी अध्यक्ष एवं नेपाल पर्यटन बोर्ड, आयरल्याण्डका प्रतिनिधि दीपेन्द्रमान शाक्यले जानकारी दिए ।

आइरिस पर्यटकले नेपाल भ्रमणमा जाँदा खिचेका तस्विरहरु प्रदर्शनीमा रहनेछन् । नौमती बाजालाई नगर परिक्रमा गराउने सोचमा पनि छन् ।

दिउँसो १२ देखि अपरान्ह ५ बजेसम्म हुने उक्त कार्यक्रमका लागि प्रवेश निशुल्क भएको र यसमा आइरिस विदेश मन्त्रालय र नागरिकहरुको समेत प्रत्यक्ष सहभागिता हुने भएकाले कार्यक्रम व्यापक हुने दूतावासको अपेक्षा छ ।