एनआरएनए यूकेले ‘ग्लोवल हेल्थ कन्फरेन्स’ संगै च्यारिटी डिनर गर्दै

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी सेप्टेम्बर १९ मा ग्लोवल हेल्थ कन्फरेन्स र च्यारिटी डिनर गर्ने भएको छ ।

गत सोमबार सम्पन्न भर्चुअल बैठकले १९ सेप्टेम्बरमा च्यारिटी विभागको आयोजनामा लन्डनमा ग्लोवल हेल्थ कन्फरेन्स र च्यारिटी डिनर गर्ने निर्णय गरेको हो । कार्यक्रमबारे एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले ‘ग्लोवल हेल्थ कन्फरेन्स’ को तयारीबारे अपडेट गराएका थिए ।

बैठकले आउंदो २ अक्टोबर २०२१ शनिबार दि प्यालेस, अल्डरसटमा एक कार्यक्रम गर्दै नवनियुक्त सल्लाहकारहरु र संरक्षक परिषदलाई सम्मान गर्ने, कार्यसमितिका नवनियुक्त सदस्यहरुलाई शपथ गराउने, निर्वाचन कार्यसमितिलाई धन्यवाद दिने निर्णय गरेको छ । सोही कार्यक्रमको संयोजन गर्ने जिम्मा महासचिवले पाएका छन् ।

बैठकमा कार्यसमितिमा को–अप सदस्य कति जना नियुक्त गर्ने भन्ने विषयमा विधानमा अस्पष्टता देखिएकाले उपाध्यक्षत्रय नारायण कंडेल, रामचन्द्र पोखरेल र गोविन्द खरेललाई विधानको पुनः अध्ययन गरी अर्को बैठकमा कार्यसमितिलाई स्पष्ट पार्ने जिम्मा दिएको छ ।

त्यसैगरि, बैठकले एनआरएनए यूके सल्लाहकारहरुको नामावलीको प्रारम्भिक रुपरेखा राज्य परिषदहरुसंगको सामञ्जस्यतामा सेप्टेम्बर ६ भित्र तयार गर्ने र सेप्टेम्बर १३ को जुम बैठकमा नामावलीउपर कार्यसमितिमा छलफल गरि आवश्यक परिमार्जनसहित उक्त नामावलीलाई सेप्टेम्बर २७ भित्र अन्तिम रुप दिने निर्णय गरेको छ ।

बैठकमा कोषाध्यक्ष विष्णु खरेलले एनआरएनए यूकेको कार्यालय स्थापनार्थ भइरहेका गतिविधिबारे कार्यसमितिलाई अपडेट गराएका थिए ।

बैठकमा अध्यक्ष प्रेम गाहा मगरले कोषाध्यक्ष खरेललाई अल्डरसटमा कार्यालय स्थापनार्थ कृयाकलापहरुमा उपाध्यक्ष सुनिलबाबु खड्का र प्रवक्ता भरतमणी चोङबाङसंग पनि आवश्यक सल्लाह सहयोग लिएर कार्य गर्न सल्लाह दिएका थिए ।

बैठकमा कोषाध्यक्ष खरेलले आफ्नो आर्थिक विभागमा सहसंयोजक १, सदस्य सचिव १, सदस्य १ र सल्लाहकार १ गरी चार जना सदस्य मनोनयन गर्ने र उनीहरुको नामावली अर्को बैठकमा पेश गर्ने सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।

त्यसैगरि बैठकमा प्रवक्ता चोङबाङले आफ्नो प्रेस तथा प्रचारप्रसार विभागमा सहसंयोजक १, सदस्य सचिव १ र सदस्यहरु २ गरी बढीमा चार जना सदस्य मनोनयन गर्ने र उनीहरुको नामावली अर्को बैठकमा पेश गर्नेबारे अवगत गराए ।

बैठकमा अध्यक्ष गाहामगर र उपाध्यक्ष कंडेलले अक्टोबरमा हुने संघको अन्तरराष्ट्रिय समन्वय परिषदको अधिवेशनका लागि चुनिएका ६५ प्रतिशत, २५ प्रतिशत र १० प्रतिशत प्रतिनिधिहरुको अन्तिम नामावलीबारे एनआएनए आइसीसी, एनआरएनए यूकेका सदस्यहरु, मिडिया र कार्यसमितिभित्र उठेका जिज्ञासा समाधान गर्ने प्रयास गरेका थिए ।

समुदाय र संघमा योगदान भन्दा पनि चाकडी, चाप्लुसी गर्नेलाई महाधिवेशन प्रतिनिधिका रुपमा चयन गरिएपछि अहिले यो विषय विवादमा छ ।

अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव खुशी लिम्बुले गरेकी थिइन् ।

अगष्टको पहिलो साता निर्वाचित भएको एघारौं कार्यसमिति (२०२१–०२३) ले आफ्ना प्रतिबद्धताअनुसारका कामहरु अघि बढाएको भन्दै अध्यक्ष गाहा मगरले एनआरएनएलाई संस्थागत गरी अघि बढ्ने अभियानमा रहेको बताए ।