लन्डनको नेपाली मेलामा ब्यानर बोकेर उपस्थित भए नेपाली पत्रकार

लन्डन। लण्डनमा आइतबार आयोजित १२ औं नेपाली मेलामा नेपाल पत्रकार महासंघ बेलायत शाखाले पनि उत्साहजनक सहभागिता जनाएको छ। ‘हाम्रो संस्कृति,हाम्रो पहिचान,हाम्रो गौरव’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त मेलामा करिब दर्जन स्थानीय पत्रकारहरु नेपाल पत्रकार महासंघ यूकेको ब्यानरसहित सहभागी भए।

प्रवासमा नेपाली कला संस्कृति,भाषा,धर्म,भेषभूषा, परम्परालाई जगेर्ना गर्न मिडियाको पनि महत्वपूर्ण भूमिका रहने पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्यालले बताए। बेलायतको नेपाली समुदायद्वारा हुने नेपाली मौलिक र सांस्कृतिक कार्यक्रमलाई प्रभावकारी बनाउन शाखाले निरन्तर सहयोग गर्दै आएको पनि अर्यालले बताए ।

तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङले नेपाली मेलामा मिडियाको ठूलो साथ र सहयोग मिलेको बताउंदै धन्यवाद व्यक्त गरेका थिए। करिब २५ सय सहभागी सो मेलामा विविध जातजातिका झाँकी र नृत्यहरु प्रस्तुत गरिएको थियो। मेलामा लन्डनस्थित नेपाली दूतावासको विशेष सहकार्य थियो ।

कार्यक्रमलाई राजदूत लोकदर्शन रेग्मीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र संवद्र्धनमा योगदान र्पुयाइरहेको बताए । उनले यस मेलाले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

धौलागिरी नौमती बाजाले दिनभर पञ्चेबाजा प्रस्तुत गर्दा नेपालीहरु हर्षका साथ नाँचगान गरेका थिए । विभिन्न झाँकीहरुको प्रदर्शनले त झन मेलालाई उत्कृष्ट बनाएको थियो । कोभिडबाट आक्रान्त भएका नेपालीहरु चिटिक्क परेको मेलास्थलमा पुग्दा निकै हौसिएका थिए । मेलामा नेपाली मौलिक भेषभूषादेखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतोलगायतका सामग्री पनि प्रदर्शन गरिएको थियो ।

मेलामा करिब दुई दर्जन नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभूषा झल्कने विभिन्न झाँकी र नृत्य प्रस्तुत गरेका थिए ।तमुधिं यूकेले सन २००९ देखि हरेक वर्ष हुँदै आएको छ।

गत बर्ष स्थगन नै गरिएको यस मेलालाई कोभिड जित्दै गरेको खुशीयाली स्वरुप मनाउने प्रयास गरिएपनि विगतको जस्तो उत्साहजनक उपस्थिती भने हुन सकेन ।

उक्त कार्यक्रमको दिनभर नै लण्डन नेपाल न्यूजले प्रत्यक्ष प्रशारण गरेको थियो ।

हेर्नुहोस् भिडियो ।