प्रधानमन्त्री दाहाल भारत प्रस्थान

pm2काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल १२५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा प्रस्थान गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिन लामो भारतको राजकीय भ्रमणमा निस्किएका हुन् । भ्रमण दलमा प्रधानमन्त्री दाहालका धर्मपत्नी सीता दाहाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद नारायण चौधरी, लालबाबु रावत, योगेन्द्र चौधरी, टेकबहादुर बस्नेत र जङ्गीलाल राय सहभागी छन् ।

भ्रमण दलमा ५० जना सरकारी सदस्यमध्येमा प्रधानमन्त्रीको ‘कोर टिम’ २६ जना, उहाँका सल्लाहकार छ जना, सुरक्षा टोलीमा तीन जना, सञ्चारकर्मीको टोलीमा सात जना र भारतस्थित राजदूतावासबाट आठ जना सहभागी भएका छन् ।

प्रधानमन्त्रीको कोर टिममा राजनीतिक दलका प्रतिनिधि, परराष्ट्र सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्रकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङ, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रासाद उपाध्याय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी र सिँचाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर रहेका छन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र मामिला सल्लाहकार डा ऋषिराज अधिकारी, स्वकीय सचिवद्वय प्रकाश दाहाल र रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य र निजी चिकित्सक डा युवराज शर्मा प्रतिनिधिमण्डलमा सहभागी रहेका छन् ।

त्यस्तै, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेलवासे र अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्याल सहभागी रहेका छन् ।

परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारी र दक्षिण एसिया महाशाखाका उपसचिव हरिप्रसाद ओडारी, मन्त्रालयका उपसचिव प्रकाश अधिकारी, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठक र शिष्टाचार अधिकृत प्रथमा उप्रेती पनि प्रतिनिधिमण्डलमा छन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल–भारत उद्योग वाणिज्य सङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका प्रतिनिधि र अन्य व्यवसायी गरी ४१ जना पनि भ्रमण टोलीमा छन् । टोलीमा निजी क्षेत्रका ३४ जनाभन्दा बढी पत्रकार समावेश छ ।