काठमाडौं– पाँच दिने भारत भ्रमण पूरा गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि मंगलबार दिउँसो स्वदेश फर्किएका छन् ।
निधि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतको रुपमा बिहिबार भारत प्रस्थान गरेका थिए भने भारतमा रहँदा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजसहितका भारतीय अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै निधिले आफ्नो भारत भ्रमण सफल भएको भन्दै भारतीय राष्ट्रपतिको नेपाल भ्रमणे र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुने पक्कापक्की भएको बताए । यद्यपी उनले सो भ्रमण कहिलेसम्ममा हुने भन्नेबारे भने केहि खुलाएनन् ।
भारतमा रहँदा भएको उच्चस्तरीय भेटवार्ताका क्रममा सबै भारतीयहरुले संविधानको कार्यान्वयन तथा संशोधनलगायतका विषयमा चासो राखेका थिए । यस्तै भारतले संविधान संशोधनमा विशेष चासो राख्दै त्यसका लागि लागिपर्न सुझाव दिएका थिए ।
प्रचण्ड नेतृत्वको. सरकार गठन हुनुअघि मधेसी मोर्चासँग भएको तीन बुँदे सम्झौतामा पनि संविधान संशोधनको विषयलाई समेटिएको छ ।
मोर्चासँग सम्झौता भइसकेको सो विषयमा भारतले समेत संशोधन आवश्यक रहेको भन्ने् सन्देश निधिको भारत भ्रमणका क्रममा दिएको हो ।
यस्तै भारतीय अधिकारीहरुले संविधान संशोधनमा मोर्चासँग भएको सहमतिको प्रशंशा समेत गरेका थिए ।
विमानस्थलमा पत्रकारहरुसँग निधिले आफूले संविधान संशोधन सरकारको पहिलो प्राथमिकता भएको भारतीय अधिकारीलाई जानकारी गराएको बताए ।
‘संविधान कार्यान्वयन पहिलो प्राथमिकता हो । ०७४ माघ भित्र तीन ओटै निर्वाचन गर्नेगरी अघि सरकार अघि बढाएको समेत जानकारी भारतीय अधिकारीलाई गराएँ’, उनले सञ्चकर्मीहरुसँग भने ।
उनले अगाडि थपे, ‘ दुबै देशका राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमण हुने पक्का भएको छ । नयाँ सरकारको प्रतिनिधिका रुपमा दिल्लीमा रहँदा उच्च सम्मान र महत्व दिएको मैले पाएँ ।’
उनले नेपाल भारतको सम्बन्ध पुनः सुधार गर्ने , सहयोग आदान प्रदान गर्ने लगायतका विषयमा कुराकानी हुनुका साथै विकास र राजनीतिमा उच्च महत्व दिएर अघि बढ्ने विषयमा छलफल भएको बताए । यस्तै भारतको लगानीका ‘अनगोइङ प्रोजेक्ट’ कार्यान्वयन गर्ने बारे पनि कुरा भएको छ ।






