प्रचण्ड–बाबुरामले माओवादीलाई टुकुचाको ढलमा मिसाए : विप्लव

काठमाडौं – नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले दश वर्षसम्म जनयुद्ध गरेर आएका नेताहरुले नै माओवादीको मूल्य मान्यतामाथि हमला गरिरहेको आरोप लगाएका छन् । राजधानीमा आयोजित पार्टी एकता कार्यक्रममा बोल्दै विप्लवले खुलेरै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईको आलोचना गरेका हुन् ।

उनले भने, ‘प्रचण्ड र बाबुरामले माओवादी आन्दोलनको मूल्य मान्यतालाई टुकुचाको ढलमा लगेर मिस्याए । अहिले उनीहरुले नै हामीमाथि हमला गरिरहेका छन् ।’

संविधान जारी गरेपछि सबै समस्या समाधान हुन्छ, देशमा शान्ति हुन्छ भन्नेहरु तर्फ इंगित गर्दै विप्लवले प्रश्न गरे, ‘संविधान जारी भएपछि मधेस आन्दोलन भयो । कयौंले ज्यान गुमाए । के उनीहरुले खोजेको शान्ति यही हो ? संविधान बनेपछि देशमा शान्ति हुन्छ भन्ने हुन्छ भन्नेले यसको जवाफ दिनुपर्छ ।’

अब कसैले रोकेर रोकिँदैमा परिवर्तन नरोकिने जिकिर गर्दै फेरि आन्दोलनको ज्वारभाटा चल्ने दाबी गरे ।

विप्लवले आफूहरुमाथि पद नपाएर आन्दोलन गर्न खोजिरहेको आरोप लगाइएकोमा त्यसको कडा प्रतिवाद गरे । ‘हामीले पद र प्रतिष्ठा नपाएर आन्दोलन गरेका होइनौं । नेपाली युवाको भविष्य सुनिश्चित गर्न र परिवर्तन गर्न आन्दोलन गरेका हौं ।’

फरक प्रशंगमा विप्लवले नेपालमा मुख्य दुई चुनौतीहरु रहेको उल्लेख गरे । ‘एक समूह विदेशी लगानी भित्राएर देशमा हस्तक्षेप निम्ताउँदैछ भने अर्को भुँइयाको भाउमा देशको सम्पत्ति बेच्न लागिपरहेका छन्,’ उनले भने ।

देशमा भइरहेको संसदीय खेलप्रति टिप्पणी गर्दै उनले अहिलेको संसदीय राजनीतिलाई हातबाट चुँडेको चंगाजस्तो भएको जिकिर गरे । ‘अहिलेको संसदीय राजनीतिक हातबाट चुँडेको चंगाजस्तो घरी वल्लो डाँडा भरी पल्लो डाँडा गरिरहेको छ,’ उनले भने ।

विप्लवले उत्पीडनबाट मुक्त हुन चाहने सबैलाई परिवर्तनको बाटोमा हिँड्न नडराउन आह्वनसमेत गरे ।

आजको कार्यक्रममा नेकपा माओवादीका महासचिव विप्लव र कम्युनिष्ट न्युक्लियस नेपालका संयोजक हेमन्त प्रकाश ओली सुदर्शनले एकता र ध्रवीकरणको आधार भनेर ६ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् । विप्लवले यसलाई एकीकरण र ध्रुवीकरणको शुरुवातको संज्ञा दिएका छन् । यसमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सन्देश पौडेल र नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य इस्लाम हवारी पनि समाले थिए ।

कार्यक्रममा बोल्दै कम्युनिष्ट न्युक्लियस नेपालका संयोजक ओलीले प्रचण्डले माक्र्सवादको बांगोटिंगो प्रयोग गरेको अरोप लगाए ।