काठमाडौं, वैशाख ८ । सत्तारुढ दल र मधेसकेन्द्रित दलका नेताबीच शुक्रबार फेरि बैठक गर्ने गरी बिहानको बैठक टुंग्याएका छन् ।
निर्वाचनमा भाग लिन सत्तारुढ दलका नेताहरुले गरेको आग्रहमा नवगठित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका नेताहरुले व्यवस्थापिका–संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरिए चुनावमा भाग लिने बताएका छन् ।
आफ्नै निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपामा आवद्ध मधेसकेन्द्रित नेताहरु र संघीय समाजवादी फोरमका नेताहरुले छलफल सकारात्मक भएको बताएका हुन् ।
मधेसी नेताहरुले संविधानको धारा ७, २७४ र सीमांकन आयोग गठनमा परिर्माजन गर्नुपर्ने धारणा राखेका छन् ।
यसैबारेमा टुंगो गर्न शुक्रबारै दिउँसो सत्तारुढ दलको अलग्गै बैठक हुनेछ भने त्यसपछि फेरि राजपा र संघीय फोरमका नेताहरुसँग छलफल गरिने तय गरिएको छ ।
आज सहमति नजुटे आफूहरु तराई फर्कने मधेसी नेताहरुले बताएका छन् ।






