सरकारी निर्णयको स्वागत, वार्ताका लागि वातावरण बन्दै : मोर्चा

काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारी निर्णयको स्वागत गर्दै वार्ताका लागि वातावरण बन्दै गएको प्रतिक्रिया दिएको छ ।

‘पूर्वसर्त कार्यान्वयनको सुरुवात राम्रो छ, अब बाँकी काम चाँडै होओस्,’ सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने, ‘त्यसपछि राजनीतिक मुद्दाहरूमा वार्ता सुरु हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’ उनले सहिद सूचीमा समावेश नामबारे फेरि एक पटक सरकारी पक्षसँग छलफल हुन सक्ने संकेत गरे ।

मोर्चाले केही दिनअघि सुरक्षाकर्मी र प्रदर्शनकारी गरी ६८ मृतकको नामावली गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको थियो । यसअघि केपी ओली नेतृत्वको सरकारले आन्दोलनका मृतकलाई १० लाख दिने निर्णय गरेको थियो । तीमध्ये कतिपयले पूर्ण, कतिपयले आधा रकम पाएको हुँदा फेरि वार्ताको पूर्वसर्तमा उल्लेख गर्नुपरेको मोर्चाले जनाएको छ ।

तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले मन्त्रिपरिषद् निर्णयले कांग्रेस-माओवादी र मोर्चाबीच भएको तीनबुँदे सहमतिको दोस्रो बुँदा कार्यान्वयन भएको बताए ।