भूकम्प पीडितले नयाँ वर्षअघि घर नपाउने

Gharकाठमाडौं- भूकम्प पीडितले घर बनाउन सरकारले दिने भनेको दुई लाख रुपैयाँको पहिलो किस्ता नयाँ वर्ष अघि नपाउने भएका छन्।

आउँदो वैशाख १२ गते भूकम्प गएको एक वर्ष पुग्दैछ। तर त्यो मितिसम्म पनि भूकम्प पीडितले घर बनाउन रकम हात पार्ने छैनन्। सरकारले यसअघि भूकम्प पीडितलाई दिएको कार्डलाई आधार मान्न नसकिने निष्कर्ष निकाल्दै रकम वितरण अघि पुन: तथ्याङ्क संकलन सुरु गरेको छ। तथ्याङ्क आउनै समय लाग्ने भएपछि पीडितले रकम नपाउने भएका हुन्।

सरकारले भूकम्प पीडितलाई घर निर्माणका लागि तीन किस्तामा दुई लाख रुपैयाँ दिने र पहिलो किस्ता स्वरुप ५० हजार दिने घोषणा गरेको थियो।

विश्व बैंकको सहयोगमा सहरी विकास मन्त्रालय र तथ्याङ्क विभागसमेत मिलेर भूकम्प पीडित परिवारको ‘डिटेल ड्यामेज एसेसेमेन्ट रिपोर्ट’ तयार गरेपछि मात्र रकम वितरण हुने भएको हो। मन्त्रालयले पहिलो चरणमा दोलखा र रसुवामा ट्याबलोइटबाट घरको अवस्था पीडितको फोटो खिचेर तथ्याङ्क संकलन भर्खरै सुरु गरेको छ।

तथ्याङ्क संकलनको कार्य सक्न मन्त्रालयले तीन महिनाको अवधि लाग्ने सहरी विकास मन्त्रलायका सचिव दिपेन्द्रनाश शर्माले बताए।

पुन: निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले पनि रिपोर्ट नआइ पहिलो किस्ताको रकम वितरण गरे पनि घर बन्ने अवस्था नरहेको बताए। उनले रिपोर्ट आएपछि मात्र वैशाख १२ गतेपछि घर निर्माणलाई अभियानको रुपमा अगाडि बढाउने बताए।