सहमति कार्यान्वयन नभए सरकारबाट बाहिरिन सक्ने नेकपा माओवादी केन्द्रको निर्णय

Maoist Meetingकाठमाडौं, असार २३- नेकपा माओवादी केन्द्रले शान्ति प्रक्रियासँग सम्बन्धित नौ बुँदे सहमति कार्यान्वयन नभए बजेट पारित गर्न असहयोग गर्ने र आवश्यक परे सरकारबाट बाहिरिने निर्णय गरेको छ।

नेकपा माओवादी केन्द्रको विहिवार सम्पन्न पोलिट्ब्युरो बैठकले अदालतमा विचाराधीन द्वन्द्वकालीन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याउने लगायत शान्ति प्रक्रियासँग सम्बन्धित नौ बुँदे सहमति कार्यान्वयनका लागि प्रमुख सत्तारुढ नेकपा एमालेसँग गम्भिरतापूर्वक छलफल गर्ने र सहमति कार्यान्वयन नहुने स्थितिमा सरकारमा नबस्ने निर्णय गरेको हो । माओवादी र एमालेबीच दुई महिना पहिले ९ बुँदे सहमति भएको थियो ।

माओवादी केन्द्रले सहमति कार्यान्वयनका अतिरिक्त सहमतीय सरकार गठनमा समेत जोड दिएको छ । पोलिट्ब्युरो बैठकले राष्ट्रिय सहमतिविना स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन गर्न सम्भव नहुने भन्दै सहमतीय सरकारका लागि पहल गर्ने निर्णय गरेको छ ।

सहमतीय सरकार जुन दलको नेतृत्वमा बने पनि स्वीकार गर्ने भन्दै त्यसका लागि पहल गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिने केन्द्रीय कार्यालयको निर्णय बैठकले अनुमोदन गरेको छ।